रेशम चौधरीको नेल फुकाल्ने काम गलत हो : काङ्ग्रेस नेतृ भुसाल - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

रेशम चौधरीको नेल फुकाल्ने काम गलत हो : काङ्ग्रेस नेतृ भुसाल



काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लंघन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप लगाएकि छन् ।

उनले उपचारकाक्रममा रहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारबाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्रीको हुकुमी शैली भएको तर्क गरिन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै भुसालले यस्तो बताएकी हुन्  । भुसालले कारागार ऐनमा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यवस्था रहेको जिकिर गरिन् ।

सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गरिन् ।

उनले भारतीयपक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके जिल्लाको १० हजार विगाहा जमिन डुबानमा परेको बताइन् ।

सांसद प्रेम सुवालले बाँके जिल्लाको सिमानामा भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गरे ।

सांसदहरु डिला संग्रौला, नवीना लामा, पार्वता डिसी चौधरी, पार्वतीकुमारी विसुंखेले राजधानीमा अज्ञात समूहले महिलामाथि ‘सिरिन्ज’ आतंक मच्चाउँदै महिलालाई आतंकित पारेकाले अज्ञात समूहलाई तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग तत्काल वार्ता सुरु गर्न माग गरे ।