कुमार पौडेल काण्ड : गृहमन्त्रीको अगाडि धरधरी रोइन नेकपाकै सांसद् - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

कुमार पौडेल काण्ड : गृहमन्त्रीको अगाडि धरधरी रोइन नेकपाकै सांसद्



काठमाडौं – सर्लाहीमा गत ५ असारमा प्रहरीको गोली लागि मारिएका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याबारे बुझ्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सोमबार छलफलमा बोलायो ।

समितिले पौडेल मुठभेडमा मारिएको सरकारी दाबीमा आशंका गर्दै गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएको हो । छलफलमा भाग लिनेमध्ये अधिकांश सांसदले पौडेलको गैरन्यायिक हत्या भएकाले छानबिन माग गरे । त्यसरी जसलाई भेट्यो उसैलाई गोली हान्न थालिए मुलुकमा लोकतन्त्र र मानवअधिकार संकटमा पर्ने भएकाले पौडेल हत्याबारे सत्थतथ्य बाहिर ल्याउन माग गरे । त्यसमध्येकी एक थिइन्, सत्तारुढ नेकपाकै सांसद तीर्था गौतम ।

जब उनी सभापति शशि श्रेष्ठसँग समय लिएर बोल्न थालिन्, तब गला अबरुद्ध भए । उनले आँसु नै झारिन् । उनले पक्राउ गर्न सकिने अवस्था हुँदाहुँदै पौडेललाई किन हत्या गरेको भन्दै प्रश्न गरेकी थिइन् । यस्ता घटनाले मुलुक पुनः द्वन्द्वमा फस्ने भएकाले घटनाका दोषीमाथि कारबाही गर्न र आउँदा दिनमा त्यस्ता घटना हुन नदिन सतर्क रहन आग्रह गरिन् । ‘पक्राउ गर्ने अवस्था हुँदाहुँदै मान्छे समातेर गोली हान्न थालियो भने मुलुक कता जान्छ ?’, उनले गृहमन्त्रीतर्फ लक्षित गर्दै प्रश्न गरिन् । बोल्ने क्रममा सांसद गौतमको झण्डै एक मिनेटजति गला अवरुद्ध भयो ।