गृहमन्त्री थापा नेकपाभित्रै चौतर्फी घेराबन्दीमा
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादल आफ्नै पार्टीभित्र चौतर्फी घेराबन्दीमा परेका छन् । सर्लाहीका विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याबारे थापाले दिएको बयानलाई नेकपाकै सांसदले अस्वीकार मात्रै गरेका छैनन् उनको राजिनामा देखि थापालाई कारबाही गर्ने समेतको आवाज उठाएका छन् ।
गृहमन्त्री थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पौडेलको हत्या प्रहरीसँगको मुठभेडमा भएको बताएका थिए।
‘प्रहरीको गस्तीमा रहेका बेला दुइटा अन टेस्ट लेखिएको मोटरसाइकलमा आएका चार जना व्यक्तिले प्रहरीलाई लक्षित गरी फायर गरेकाले प्रहरी टोलीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो’, थापाले समितिमा भने। तर गृहमन्त्री थापाको जवाफमा पूर्वमन्त्री रहिसकेका नेकपाकै सांसदले भने विश्वास गरेनन्।
नेकपाकी सांसद रेखा शर्माले ‘संकटकालका बेला आफू एक वर्ष आर्मीको क्याम्पमा बसेको उल्लेख गर्दै भित्र हातखुट्टा भाँचेर बाहिर लगेर मुठभेड भन्ने गरिएको देखेको उल्लेख गर्दै’ गृहमन्त्रीलाई घटना पुष्टि गर्न चुनौती दिइन्।
उनले कुमार पौडेलको हात चार/पाँच ठाउँमा भाँचिएको फोटो सार्वजनिक भएको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ मागिन्।
‘यो घटनाको राम्रोसँग छानबिन हुनुपर्छ’, शर्माले भनिन्, ‘यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा प्रोत्साहन भैरहेको छ।’
नेकपाकै सांसद एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रहरीले दिएकै फोटोमा कुमार पौडेलको हात पाँच/छ ठाउँमा भाँच्चिएको देखिएको बताए।
‘पहिला हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुनसक्छ’, शर्माले गृहमानन्त्री थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित बैठकमा भने, ‘के गोली हानेपछि भाँच्चियो हातखुट्टा? यस्तो घटनाले विद्रोहमा जनतामा असन्तुष्टि आउँछ।’
उनले आफूहरू विगतमा निहत्था मारिएको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे,‘के हामी त्यही प्रवृत्ति दोहोर्याउन चाहन्छौं?’
उनले प्रहरीले कानुनी कारबाहीमा साथ हुने तर हत्यामा साथ नहुने बताए।
‘यो मुठभेड हो भन्ने लाग्दैन’, शर्माले भने।
उनले विप्लवले मुठभेड चाहेकाले सरकारले त्यतातिर लैजान नहुने बताए। उनले गृहमन्त्रीलाई प्रहरीको गल्ती सुधार्न लाग्न आग्रहसमेत गरे।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले पनि घटनाबारे परिवारबाट फरक विवरण आएको उल्लेख गरिन्।
‘यो घटनाको सन्दर्भमा सनसनीपूर्ण पत्रपत्रिका, जनता, उनकै आफ्नो परिवारबाट के आएको छ भने प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिएर उनलाई कुटपिट गरेर हातखुट्टा बाधेर उनको मृत्यु भयो भनेको छ,’ संग्रौलाले भनिन्।
सांसदहरुले आलोचना गरेपछि भने गृहमन्त्री थापाले बोली फेरे। उनले ‘कुमार पौडेलको मुठभेडको घटना फरक प्रकृतिको देखिएको उल्लेख गर्दै छानविन गर्ने बताए। साथै सरकारले विप्लवसँग वार्ताको पहल गरिरहेको जिकिर गरे।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले गृह मन्त्रालयलाई घटनाबारे ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।