एस जयशंकरलाई नेपाल आउन परराष्ट्रको ताकेता
काठमाडौं– भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुनःनिमन्त्रणा पठाएका छन् । एस.जयशंकरले विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।
तर उनी नेपाल नआएर पहिलो भ्रमण भुटानबाट गरेका थिए । परराष्ट्र मन्त्री ज्ञवालीले अहिले पुनः जयशंकरलाई निमन्त्रणा पठाएपछी किन ताकेता गरियो भन्ने चर्चा बढेको छ ।
नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि उनले निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने कुरा थियो । तर भारतमा चुनाव भएका कारणले बैठक स्थगित भएको थियो । संयुक्त बैठकको मिति चाँडै तोकेर मन्त्री जयशंकरको नेपाल भ्रमण गराउने परराष्ट्र मन्त्रालयको तयारी रहेको छ ।
असार ३ गते भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विदेशी मन्त्रालयका सचिव विजय गोख्लेसँग भेटेर समय तय गर्न आग्रह गरेका थिए । यस विषयमा मन्त्री जयशंकरसँग कुरा गरेर जानकारी गराउने गोख्ले जवाफ दिएको बताइएको छ ।
एस.जयशंकर विदेश मन्त्री भएपछि नेपालमा निकै चर्चा भएको थियो । सविधान निर्माण कार्य रोक्नका लागि एस.जयशंकर तत्कालीन अवस्थामा सचिवको हैसियतमा नेपाल आएका थिए । उनले शीर्ष नेताहरुलाई भेटेर मधेशी लगायत पिछडिएका समुदायको माग सविधानमा सम्बोधन गर्नका लागि केही दिन सविधान निर्माण स्थगित गरेर वार्ता संवादबाट त्यसलाई टुंगो लगाउन आग्रह गरेका थिए ।