घोडाघोडीमा लैङ्गिक समानता सम्बन्धि नीति निर्माण

विशाल पाण्डेय / कैलाली ।
घोडाघोडी नगरपालिकाले लैङ्गिक समानता सम्बन्धि नीति बनाएको छ । नगरपालिकालाई आगामी ५ बर्ष भित्र विभेद रहित,लैंगिक हिंसा मुक्त ,समुन्नत र आत्मनिर्भर नगर बनाउने उद्देश्यले उक्त नीति बनाइएको घोडाघोडी नगरपालिकाले जनाएको छ ।
घोडाघोडी नगरपालिकाको आयोजना तथा ओरेक नेपालको आर्थिक सहयोगमा शुक्रबार सम्पन्न भएको पालिकाद्बारा निर्माण गरिएको लैंगिक समानता नितिको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम मार्फत सो कुराको जानकारी दिइएको हो ।
स्थानीय सरकारले बनाउले नीति ,योजना तथा कार्यक्रमहरुबाट नै ब्यक्ती ,परिवार तथा समाजको सोच र व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता अनुरुप घोडाघोडी नगरपालिकामा पनि लैंगिक समानता नीति ल्याइएको घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले बताए ।
सबै प्रकारको लैंगिक विभेद अन्त्य गरि नगरपालिकाका सबै महिलाले सम्मानित जीवन जिउन ,समाजमा रहेका कुरिती तथा परम्परागत हानिकारक अभ्यासका कारण महिला तथा बालबालिकाले भोग्नु परेको दुव्र्यवहार र हिंसा अन्त्य गर्न ,दिगो विकास र आर्थिक समृद्धिका लागि महिलाको समान अवसर लगायतका नीति बनाइएको निमित्त प्रशासकीय अधिकृत सिंहले जानकारी दिए । उनले भने, “लैंगिक समानता सुनिश्चितता नहुदासम्म नगरपालिका आर्थिक समृद्धि ,शान्ति सुरक्षा र आत्मनिर्भर बन्न सक्दैन , नगरपालिकामा लैंगिक समानता कायम गर्न सबै सरोकारवालाहरुसंग छलफल गरि नीति बनाइएको हो ।”

तयार गरिएको नीतिमा सरोकारवालाहरुको सल्लाह सुझावलाई समेटी कार्यपालिका बैंककबाट पास गरि लागू गरिने समेत बोहराले जानकारी दिए । बोहराले लैंगिक समानता सम्बन्धि सोच ,लक्ष्य ,उदेश्य ,संस्थागत संरचना ,आर्थिक पक्ष ,कानुनी व्यवस्था ,जोखिम तथा न्यूनीकरण लगायतको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरुले सुझाव समेत दिएका थिए । घोडाघोडी नगरपालिका वडा नं ३ का वडाध्यक्ष कमल चौधरीले नितिलाइ सिद्धान्तमा नभई व्यवहारमा पनि उतार्नु पर्ने बताए । २१ औं शताब्दीमा पनि लैंगिक समानता सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गर्नु परेको घोडाघोडी नगरपालिका वडा नं १ का अध्यक्ष मनराज शाहिले बताए । जनचेतनाको कार्यक्रममा गएपनी पहिला आफु र आफ्नो घरपरिवार लैंगिक समानता सम्बन्धि परिपक्व गराएर अन्य ब्यक्तिहरुलाई त्यसबारेमा जनचेतना जगाउनु पर्ने शाहिले बताए ।
यस्तै आफुहरुले सिकेर गएका कुराहरु वडामा लागू गरेपनि परिवर्तन गर्न नसकिने घोडाघोडी नगरपालिका वडा नं ६ कि वडा सदस्य राज कुमारी कामिले दुखेसो पोखिन् । उनले नगरबासी सबै एकजुट भएर परिवर्तनका लागि लाग्नु पर्ने बताइन् । नगरपालिकामा नीति बनाएर मात्र नभइ आफैबाट व्यवहारमा ल्याउनुपर्ने गैरसरकारी महासंघका सचीव चेतमान साउदले बताए ।
घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ओरेक नेपालकी कैलाली जिल्ला संयोजक बिनु रानाले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

