असार १० गते नेपाल बन्द – सरकारसँग बदला लिने विप्लवको घोषणा
काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारसँग बदला लिने चेतावनी दिएको छ। पार्टीका सर्लाही जिल्ला इन्चार्ज एवम् जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्या सरकारले योजनाबद्ध रूपमा गरेको भन्दै बदला लिने चेतावनी दिएको छ।
बिहीबार पौडेलको मृत्युपछि प्रेस विज्ञप्ति जारी गर्दै जनकपुर ब्युरोका इन्चार्ज अरुणले सरकारसँग बदला लिने चेतावनी दिएका हुन्।
यसैबीच शुक्रबार सङ्घीय संसदको प्रतिनिधि सभामा घटना बारे सरकारसँग जबाफ माग गरिएको छ। सत्तारुढ दल नेकपाकै सांसद शिवकुमार मण्डलले घटनाबारे संसदलाई जानकारी गराउनु पर्ने बताएका छन्।
‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन, जनतालाई पनि राम्रो गर्दैन। त्यो घटनाको सत्यतथ्य के हो, गृहमन्त्रालयमार्फत सदनलाई जानकारी होस्।’ सांसद मण्डलले भने, ‘निशस्त्र व्यक्तिहरूलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न अत्यन्त संवेदनशील र गम्भीर बन्दै गएको छ।’ विप्लव समूह राजनीतिक समूह भएकाले राजनीतिक रूपमा समस्याको समाधान गर्नुपर्ने उनले बताए।
लालबन्दी नगरपालिकाको वडा नम्बर १ स्थित लखनदेई नदी नजिक प्रहरीको गस्ती टोलीमाथि चार–पाँच जनाको समूहले आक्रमण गरेको र जबाफी कारबाहीमा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाई छ।
मृत्यु भएका पौडेल सर्लाहीको बागमती नगरपालिका–२ धरहराका स्थायी बासिन्दा हुन् भने विप्लव समूहमा लाग्नुअघि उनी चुरे भावर पार्टीसँग आबद्ध थिए। नेकपा माओवादी फुटेपछि उनी मोहन वैद्यसँग आबद्ध भए। नेत्रविक्रम चन्दले नेकपा गठन गरेपछि उनी सर्लाही जिल्ला इन्चार्जका रुपमा काम गर्दै आइरहेको बताइन्छ।
विप्लव नेतृत्वको नेकपाले १६ जेठमा नेपाल बन्दको घोषणा गरेको दिन सर्लाहीको बागमती नगरपालिकासहित हरिपुर र ईश्वरपुर नगरपालिकामा बमसमेत राखेको थियो।
आफ्नो नेताको बर्बरतापूर्ण हत्या गरेको विरोधमा यही असार १० गते नेपाल बन्दको घोषणा लगायतका सङ्घर्षका कार्यक्रम सार्वजानिक गर्दै विप्लवले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, केपी ओली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भीडन्ततिर धकेल्ने, लुटको राज्य चलाउने, बदनियत राखेको छ।