डा. भट्टराईलाई अख्तियार, कर्मचारी र ससुरालीको डर - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

डा. भट्टराईलाई अख्तियार, कर्मचारी र ससुरालीको डर



काठमाडौँ –राज्य केन्द्रीकरण तर्फ जान खोजेको आरोप समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा डा भट्टराईले दुई तिहाइको सरकारले दम्भ प्रदर्शन गरेको केन्द्रीकरण तर्फ जान खोजेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । ‘मतादेश परिवर्तन हुन सक्छ’, डा. भट्टराईले भने,‘ राम्रो काम गर्ने यो तपाईँहरूलाई अवसर हो नराम्रो काम गरे फेरि रहनसक्छ भन्ने हुँदैन ।’

उनले सरकारले विभिन्न विधेयकहरू ल्याउँदा सरोकारवालाहरूसँग छलफल नगरेको र नियन्त्रण गर्नतर्फ लागेको आरोप लगाए। काठमाडौँ उपत्यकामा गुठी विधेयकको विपक्षमा भएको विद्रोहलाई साङ्केतिक रूपमा लिनुपर्ने डा. भट्टराईको भनाइ थियो । गुठी, मानवअधिकार, प्रेस काउन्सिल, सुरक्षा परिषद् लगायतका विधेयक खारेज गरेर अघि बढ्नुपर्ने उनले बताए ।

प्रधानमन्त्रीसहित सत्ताको नेतृत्वमा रहेका मन्त्रीहरू नेवार समुदायका ज्वाइँ भएको र ससुरालीको प्रथा परम्परामाथि आक्रमण गर्न खोजेको र केही दिन यता सामाजिक सञ्जालहरूमा चलेको बहसलाई लक्ष्यित गर्दै डा. भट्टराईले ज्वाइँहरूलाई अप्ठ्यारो पर्ने अवस्था बनेको बताए ।

‘म पनि यहाँ नेवार समुदायमा काठमाडौँमा विवाह गरेको गरेको मान्छे हो’ डा. भट्टराईले भने,‘यहाँ ठूलो ठट्टा के आएको छ भने हामी खसआर्य समूदायले उखान बनाएका छौँ ‘ज्वाइँ न स्वाइ अगुल्टाले च्वाइँ’, अस्ति  माइतिघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टो उचाले यसबाट ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री र ज्वाइँ मन्त्रीहरू सतर्क रहनुहोला भन्ने मेरो आग्रह छ ।’

डा. भट्टराईले काठमाडौँको ससुराली काठमाडौँको नेवार हुन् भने प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण विष्ट लगायतको ससुराली पनि नेवार समुदायमा रहेको छ ।

भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्न ‘बिग्रिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ खारेज गर्नुपर्ने बताएका छन्।  ‘अख्तियारसहितका संवैधानिक आयोगमा टीको लगाएर पदाधिकारी राखेपछि बिग्रिएको हो’, उनले भने, ‘अख्तियारको विकल्प खोजौँ, लोकपाल बनाऊँ। त्यसो नभएसम्म भ्रष्टाचार रोकिँदैन र रोक्न सकिँदैन।’

भ्रष्टाचारको कुरा आउनेबित्तिकै नेताहरूबीच एकअर्कालाई दोषारोपण गर्ने क्रम बढेको बताउँदै उनले यस्तो प्रवृत्तिबाट भ्रष्टाचार झन् मौलाउने जिकिर गरे । ‘सुन तस्करी काण्डदेखि एनसेलको कर र बालुवाटारको जग्गा किनबेच काण्ड हेर्दा भ्रष्टाचारको भयावहरूप बुझ्न सकिन्छ’, उनले भने, ‘अहिलेकै तरिकाले अख्तियारले भ्रष्टाचार घटाउँदैन। यसको विकल्पमा शक्तिशाली लोकपाल या अरू कुनै विकल्प खोजौँ।’

डा. भट्टराईले देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने हो भने अहिलेको कर्मचारीतन्त्रलाई भत्काउन सक्नुपर्ने उल्लेख गरे । ‘कर्मचारीतन्त्रको प्रक्रियामुखी शैलीबाट विकास हुँदैन। सोपना प्रवृत्तिको ब्युरोक्रेसी भत्काउनै पर्छ’, उनले थपे, ‘कर्मचारीतन्त्रमा ठूलो सुधार र पुनर्संरचना नगरेसम्म केही हुँदैन, समृद्धि र विकास नाराको कुनै अर्थ हुँदैन।’ एउटा फाइल सदर गर्न ६ महिना लगाउने कर्मचारीबाट देश विकासको कल्पना गर्नु व्यर्थ हुने उनको भनाइ थियो ।

‘यही कर्मचारीतन्त्रले बजेट कार्यान्वयन पनि हुन सक्दैन, अहिले पनि ४६ प्रतिशत मात्रै बजेट कार्यान्वयन भएको छ’, भट्टराईले थपे, ‘त्यसैले अब ढिला नगरी अहिलेको कर्मचारीतन्त्र भत्काउन लागौँ।’ डा. भट्टराईले नेपालको बैङ्किङ प्रणालीमाथि पनि कडा प्रहार गरेका छन् । ‘बैङ्किङ प्रणाली सुधार नहुन्जेल देशको अर्थतन्त्र उँभो लाग्दैन। बैङ्कहरू आधुनिक सुदखोर बनेका छन्’, उनले भने, ‘देश कङ्गाल हुने तर बैङ्कमात्रै धनी हुने प्रवृत्ति रोकिनुपर्छ ।’