गच्छदारको गर्जन : प्रधानमन्त्री राजीनामा दिनुहोस् - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गच्छदारको गर्जन : प्रधानमन्त्री राजीनामा दिनुहोस्



काठमाडौँ –

प्रतिनिधिसभा बैठकमा आफ्ना विचार प्रकट गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् र सरकार स्वेच्छाचारी बन्दै गएको आरोप पनि लगाएका छन्।

सरकारले संविधान उल्लङ्घन गर्दै एकपछि अर्को विधेयकहरू ल्याएको भन्दै प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार नभएको बताए । तिनै विधेयकहरूमध्येको एक गुठी विधेयकले नेपाली जनताको धर्म र आस्थामाथि प्रहार गरेको आरोप उनले लगाए ।

आफ्नो शक्ति दुईतिहाई भएको हाँक दिने सरकारका प्रधानमन्त्रीले आफैँले ल्याएको विधेयक फिर्ता लिनुपर्ने अवस्था आउनु लाजमर्दो भएको र पदमा बस्ने नैतिक आधार सकिएको जिकिर गरे, ‘प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ।’

उनको प्रश्न थियो, ‘प्रधानमन्त्रीलाई संविधानविपरीत ऐन-कानुन ल्याउने अधिकार कसले दियो ?’

जबरजस्ती ल्याइएका सबै विधेयक फिर्ता लिन माग गर्दै नेता गच्छदारले परिवर्तनमा साथ दिने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अप्ठ्यारामा पार्ने ल्याइएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन माग गरे ।

‘प्रेस र अभिव्यक्तिको हनन् गर्ने, धर्म संस्कृतिमा प्रहार गर्ने विधेयक किन ल्याइयो ? जुन पत्रकारले प्रजातन्त्र ल्याउन ठूलो योगदान गरेका छन् तिनै पत्रकारलाई थुन्ने, मुद्दा लगाउने गरी विधेयकहरू किन ल्याइयो यसको नियत के हो ?” उनले प्रश्नमार्फत जबाफ मागे।

गच्छदारले भने, ‘प्रेस माथि नियन्त्रण गर्ने ? यो त पञ्चायतकाल वा राजाको शासनकालमा हुने गर्दथ्यो । तर राजाको प्रत्यक्ष शासनमा पनि प्रजातन्त्रका पक्षमा पत्रकारले कलम चलाइरहे, हामीलाई साथ दिए । २०६२/०६३ मा त आफै जेल बसेर गणतन्त्र ल्याउन, राजतन्त्र अन्त्य गरी सङ्घीय गणतन्त्र ल्याउन भूमिका खेले, अब तिनैलाई आतङ्कित पार्ने ? यो सहिन्न । यसविरुद्ध लडिन्छ । सङ्घर्ष गरिन्छ ।’

ओलीले स्वायत्त रहनुपर्ने राज्यका अङ्गहरूलाई एकपछि अर्को गर्दै आफू मातहतमा ल्याएको आरोप लगाउँदै गच्छदारले प्रश्न गरे, ‘कति अधिकार चाहिएको हो ? कति भए पुग्ने हो ?’

उनले कुत्सित नियत राखेर अधिकार हनन् गर्दै अधिनायकवाद लाद्न खोजेको आरोप पनि लगाए । साथै संविधान संशोधनका लागि दिइएको बचन पूरा नगरेकामा उनले आपत्ति पनि जनाए ।