किन मागियो मन्त्री महासेठको राजीनामा ? - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

किन मागियो मन्त्री महासेठको राजीनामा ?



काठमाडौ :

सत्तारुढ नेकपाका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको योजना वितरण तथा बजेट विनियोजन गर्दा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै महासेठलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्।

योजना माग्दा मन्त्रीले हप्काएको भन्दै सांसद थापा संसदमा आक्रोशित भए र भने, “हामीले मन्त्रीलाई हेर्नै नहुने भयो। मन्त्री अब्बल दर्जाको जनप्रतिनिधि हुने भयो। योजना माग्दा मन्त्रीबाट हप्की खानुपर्ने भयो। महाराज मलाई नहप्काइस्योस् भन्नुपर्ने अवस्था आयो।”

मन्त्री महासेठले आफ्नो गृह जिल्ला धनुषामा मात्रै रणनैतिक योजना ७९ वटा, र पक्की पुलका ५९ योजना राखेको थापाले बताए। थापाले बाजुरासहित २० हिमाली जिल्लामा नयाँ पुलको योजना पर्दै नपरेको बताए। उनले भने, “१६५ निर्वाचन क्षेत्र छन् भन्ने हेक्का नगर्नेरु मन्त्री भएपछि आफ्नो क्षेत्र र जिल्लामा मात्रै केन्द्रित हुनेरु मुलुकको मन्त्री हुन नसक्नेरु विगतदेखिको प्रचलन समाप्त हुन्छ भन्ने लागेको थियो तर भएन। पूर्वाग्रही व्यवहार गर्ने मन्त्री र राज्यको स्रोतलाई मनलाग्दी आफ्नो क्षेत्रमा मात्रै लैजाने मन्त्रीलाई अनुशासनको कार्बाहीको विषय बनाउनुपर्छ र पदमुक्त गर्नुपर्छ।”

उक्त मन्त्रालयले दिएको योजनाको पुस्तक पनि सांसद थापाले फिर्ता गरे र भने, “म यो किताब लिन सक्दैन। यो किताब सर्वोच्च निकाय संसदबाट यो किताब लिन सक्दैन। बाटो, खानेपानी, स्कुल पाउनुपर्छ भन्ने, सम्पन्न हुनुपर्छ भन्ने बाजुरेली जनताको चाहना हो। त्यस अवस्थामा यो किताब लिएर जान सक्दैन। यो बोकेर जाँदा संसदको अपमान हुन्छ।”

थापाले सो पुस्तक संसदमार्फत मन्त्री महासेठलाई नै फिर्ता गरिदिए।