गुठीले तातेको आन्दोलनमा नेवा राज्यको माग - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

गुठीले तातेको आन्दोलनमा नेवा राज्यको माग



काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता लिएपनि आन्दोलन रोकिएको छैन । बरु आन्दोलनले अर्कै रुप धारण गर्ने शङ्का बढेको छ । आज माइतीघरमा देखिएको प्रदर्शनले यस्तै सङ्केत गरेको चर्चा सुरु भएको छ ।

सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेको भोलिपल्ट राजधानीको माइतीघरमा भएको विशाल जनप्रदर्शनमा विधेयक खारेजीसहित नेवा राज्यको नारा पनि लागेको छ। आन्दोलन भड्केर नेवा राज्यको माग सम्म पुगेपछि यस्तो आशंका बढेको हो ।

उनीहरूले राणाकालदेखि काठमाडौंका नेवारहरूमाथि दमन गर्ने प्रयास हुँदै आएको तर, त्यसले सत्तापलटकै नतिजा ल्याएको भन्दै वर्तमान सरकारलाई सचेत रहन चेतावनी दिए। ‘यो नेवारको भूमि हो । गुठी परम्परालाई भत्काएर नेवारमाथि प्रहार गर्न खोजिएको छ,’गुठी आन्दोलनको अभियन्ताका रूपमा सक्रिय गायक योगेश्वर अमात्यले भने, ‘गुठी हाम्रो आत्मा हो, यसलाई मास्न पाइँदैन।

अमात्यले थपे, ‘सरकार बलियो होला, दुई तिहाइको होला । तर, जनता अझ बलिया छन्। यो सधै देखिँदै आएको हो। काठमाडौंका नेवारहरूले धेरै परिवर्तन गरेका छन्। फेरि बेला आएको छ।’

यो संगै माइतीघरमा देखिएको आन्दोलनको अर्को पक्ष अझै डरलाग्दो बनेको छ । आन्दोलनकारीले टाउकोमा नेवा राज्यको फेटा गुथेका छन् र नेवा राज्यको माग गरिरहेका छन् ।

यस्तो अवस्थाले आन्दोलन भड्किएर नेवा राज्य माग सम्मको अवस्था देखिएको छ ।