जनआन्दोलनको झल्को : ओलीविरुद्ध आक्रामक - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

जनआन्दोलनको झल्को : ओलीविरुद्ध आक्रामक



काठमाडौं – सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ ।

विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रमको व्यानरमा माइतीघर मण्डलामा आयोजित खबरदारीसभा गुठी संघसंस्थासँग सम्बन्धित अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा सहभागी गायक योगेश्वर आमात्य लगायतका केही व्यत्तित्वहरुले गुलावको फूल समेत बोकेर सहभागी भएका छन् ।

यसअघि शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको थियो । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका थिए ।

सरकारले गुठी विधेयक फिर्ता लिइसकेकाे छ तर, प्रदर्शनकारीले विधेयक खारेज गर्नुपर्ने माग गरेका छन् । जनप्रदर्शनले ०६२/०६३ को जनाआन्दोनलाई झल्को दिएको थियो ।