योगेश भट्टराई भन्छन : काङ्ग्रेसको यो काम अनैतिक र निन्दनीय - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

योगेश भट्टराई भन्छन : काङ्ग्रेसको यो काम अनैतिक र निन्दनीय



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाएका छन् । सांसद भट्टराईले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएर काँग्रेसले संसदीय व्यवस्था माथिनै धावा बोलेको दावी समेत गरे ।

काँग्रेसले प्रधानमन्त्रीले बोल्नुअघि प्रतिपक्ष दलका नेताले बोल्न पाउनुपर्छ भनेर संसदमा अनैतिक कुरा गरेको सांसद भट्टराईको दावी छ । उनले आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने काँग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको यो घटना नेपालको संसदीय इतिहासकै निन्दनीय घटना भएको प्रतिक्रिया पनि दिए ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भट्टराईले जनसरोकारका विभिन्न विषयमा सरकारको पोजिशन स्पष्ट पार्न रोष्टममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिएर, संसद चल्न नदिएर काँग्रेसले निन्दनीय काम गरेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरे ।

सांसद भट्टराईले प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्ष दलका नेतालाई बोल्न दिने सभामुखले भनिरहँदा पनि काँग्रेसले नमान्नु अत्यन्तै अनैतिक कुरा भएको पनि बताए ।