बोर्डिङ स्कुल बन्द गर्न प्रेम सञ्जेलको पत्र
हिमालपोस्ट/काठमाडौँ
बोर्डिङ स्कुलकी शिक्षिकालाई तलब नदिएको भन्दै विराटनगरका श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले बोर्डिङको इजाजत निलम्बन गरिदिन राष्ट्रिय परीक्षा बोर्डलाई पत्राचार गरेको पाइएको छ ।
विराटनगर महानगरपालिका–१२, खनारस्थित सनसाइन इङ्ग्लिस सेकेन्डरी स्कु्लले एक शिक्षिकाको तलब र सुविधा नदिएको भन्दै सन्जेलले एसईईको नजितासमेत निलम्बन गर्न पत्र लेखेका छन् ।
गत ७ जेठमा उनले लेखेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सन्जेलको यो कार्यको चर्को आलोचना भइरहेको छ ।
सन्जेलले शिक्षा मन्त्रालय, शिक्षा विभाग, विराटनगरस्थित परीक्षा बोर्ड शाखा कार्यालय र शिक्षा विकास तथा समन्वय एकाइ इनरुवालाई समेत पत्राचार गरी २३ वर्ष सेवा गरेकी एक शिक्षिकाको तलब सुविधा नदिएसम्म सो विद्यालयको एसईई परीक्षाको नतिजा रोकिदिन र स्कुलको इजाजतपत्र निलम्बन गरिदिन माग गरेका छन् ।
विराटनगर श्रम कार्यालयका प्रमुख सन्जेललाई यसअघि सरकारले सरुवा गरेपछि उनी अदालतको आदेशले हाल विराटनगरमै थमौतीमा छन् ।
श्रम हेर्ने अधिकारीका रूपमा उनले एक शिक्षिकालाई सेवा सुविधा दिलाउन गरेको प्रयास असफल भएको भन्दै स्कुलको इजाजत नै निलम्बन गर्न सिफारिस गर्नुपरेको बताएका छन् ।
उनको यो कार्यले विद्यार्थीको पढ्न पाउने हकमा आघात पुऱ्याएको भन्दै अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विरोध जनाएका छन् ।
उनले मध्यस्थताका माध्यमबाट वा अन्य कार्बाहीबाट शिक्षिकालाई न्याय दिलाउनैपर्ने भन्दै नतिजा रोक्ने र इजाजत रोक्ने गरी सन्जेलले लेखेको पत्र गलत भएको बताए ।