नेकपाका निर्वाचित सांसदको आरोप - भूृ-माफिया र भ्रष्टाचारीका लागि विधेयक ल्याइयो - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

नेकपाका निर्वाचित सांसदको आरोप – भूृ-माफिया र भ्रष्टाचारीका लागि विधेयक ल्याइयो



काठमाडौँ -एकातिर गुठी विधेयकविरुद्ध आन्दोलन चलिरहेको छ भने अर्कातिर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँबाट निर्वाचित सांसदहरू समेत सो विधेयकविरुद्ध उभिएका छन् । नेकपाका नेता अजय क्रान्ति शाक्यले गुठी विधेयक भू–माफिया र भ्रष्ट कर्मचारीको षड्यन्त्रबाट आएको आरोप लगाएका छन्। उनी काठमाडौँ – ९ बाट प्रदेशसभामा निर्वाचित सांसद हुन्।

प्रमुख रूपमा गुठी विधेयकका २३, २४ र ६० लगायतका दफाप्रति तीव्र असन्तुष्टि रहेको शाक्यले बताए । ती दफा संशोधन नगर्ने हो भने लिच्छवीकालदेखिको सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई बोकेको गुठी प्रणाली समाप्त हुने शाक्यको भनाइ रहेको छ।

शाक्यले भने, ‘लिच्छवी कालमा गोष्ठीका रूपबाट सुरु भई मल्लकालबाट गुठीका रूपमा आएको गुठी प्रणाली यो विधेयक हुबहु अघि बढ्ने हो भने भने समाप्त हुन्छ । गुठी हाम्रो परम्पराअनुसार जन्मदेखि मृत्युसम्म आवश्यक हुन्छ । अहिलेकै विधेयक हुबहु अघि बढ्ने हो भने हाम्रो सामाजिक परम्परा, संस्कृति र धर्म सबै सिद्दिन्छ।

यो ऐन प्रारम्भ हुनु अघि कायम रहेका छुट गुठी र सार्वजनिक गुठी यो ऐन प्रारम्भ भएपछि स्वतः राजगुठीमा परिणत हुनेछन् भनी उल्लेख गरिएको दफा २३.१ मा संशोधन आवश्यक रहेको बताए ।

एवम् रितले उपदफा (१)मा राजगुठीमा परिणत हुने छुट गुठी र सार्वजनिक गुठीको चलअचल सम्पत्ति, जायजेथा, देवदेवीको प्रतिमा आदिमा भइरहेको गुठियारको हक र दायित्व प्राधिकरणमा सर्नेछ भनी उल्लेख गरेको दफामा पनि संशोधन आवश्यक रहेको उनले बताए ।

अहिलेको आवश्यकता भनेको गुठीका नाममा हुने भ्रष्टाचारको अन्त्य गर्ने खालको ऐन रहेको उनले बताए । ‘तर, अहिलेको विद्येयक गुठीभित्रको भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यले भन्दा पनि भू–माफिया र भ्रष्ट कर्मचारीको षडयन्त्रमा आएको जस्तो देखिएको छ । यो तत्काल संशोधन गर्नुपर्छ ।’ उनको भनाइ थियो।