शङ्काको घेरामा प्रधानमन्त्री रोजगार कार्यक्रम - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

शङ्काको घेरामा प्रधानमन्त्री रोजगार कार्यक्रम



काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमले बाँदर लखेट्ने भन्ने समाचार आएपछि यसले सामाजिक सञ्जालदेखि चिया पसलसम्म चर्चा र केही विवाद पनि बटुलेको छ ।

‘गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकमले बाँदर लखेट्ने काम गराउने योजना छ’ भन्दै पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमप्रतिको विश्वास कम भएको टिप्पणी गुन्जिन थालेको छ ।

देशमा बेरोजगार युवाहरूलाई सृजनात्मक काम लगाउने र बैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्यामा कमी ल्याउने भनेर ल्याइएको यो कार्यक्रममा केही दिन अगाडि एक वृद्ध भेटिनु र अहिले राज्यकोषको पैसा बाँदर लखेट्नमा खर्च गर्ने समाचारले राम्रो सङ्केत भने देखाएको छैन ।

श्रम मन्त्रालयको अत्यन्त नवीनतम प्रयास भनिएको यो कार्यक्रम पनि हचुवा कै भरमा ल्याइएको, कुनै ठोस योजनाबिना घोषणा गरिएको भन्ने यस्ता घटानाले पुष्टि गर्न थालेको छ ।

सुरुवातमा सरकारको इज्जत जोगाउँछ कि भन्ने सङ्केत देखिएको श्रम मन्त्रालय र मन्त्री गोकर्ण विष्ट पछिल्लो समय यस्ता कैयौँ कामले विवादमा तानिन थालेका छन् ।

पार्टीकै कार्यकर्ताले समय माग्दा भेट नदिने तर साना-साना र श्रम मन्त्रालयसँग सम्बन्ध नै नभएका कार्यक्रममा भेटिएको भन्दै मन्त्री विष्टप्रति सामाजिक सञ्जालमा आक्रोश पोखिन थालेको छ ।