घोडाघोडी नगरपालिका भवन : स्थान छनोट बिना नै टेन्डर आह्वान - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

घोडाघोडी नगरपालिका भवन : स्थान छनोट बिना नै टेन्डर आह्वान



विशाल पाण्डेय/कैलाली ।
घोडाघोडी नगरपालिकाको भवन निर्माणको कार्य अझै टुंगोमा पुगेको छैन । नगरपालिकाले स्थानीय वासिन्दा तथा सरोकारवालाहरुसंग छलफल बिना नै आफू खुशी निर्णय गर्दा भवन निर्माणका लागि अझै टुंगोमा नपुगेको बताइएको छ ।

सोमबार घोडाघोडी नगरपालिकाको भवन निर्माण स्थल तथा आर्थिक बर्ष २०७६/०७७ का लागी नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव संकलन तथा छ्लफल कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाहरुले स्थान छनोट बिना नै नक्सा बनाउने र टेन्डर आह्वान गरि नगरपालिकाले आफू खुशी निर्णय गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा स्थानीय भिम बडुवालले भवन निर्माण प्रक्रिया ढिला भएको बताएका छन् । जनप्रतिनिधि आएको २ बर्ष बितिसक्दा पनि भवन निर्माणको विषयमा मात्र छलफल चलिरहेको उनले बताए । नगरपालिका भवनमा सबै सरकारी कार्यालयहरु रहने गरि बनाउन बडुवालले सुझाव दिए । उनले भने , ” जनतालाई सरकारी काम काज गराउन धेरै ठाउँमा धाउनपर्ने बाध्यतालाई अन्त्य गर्नको लागी निर्माण गरिने भवनमा अन्य सरकारी कार्यालयहरु समेत हुने गरि भवन निर्माण गरिनुपर्छ ।”

घोडाघोडी नगरपालिकाले सरोकारवालाहरुसंग समयमै सुझाव नलिइ भवनको डिपिआर तयार गरेको घोडाघोडी जनजागरण मंचका अध्यक्ष दीपेन्द्र शाहीले बताए । पहिला स्थान छ्नोट गरेर भवनको डिपिआर तयार गर्नु पर्थ्यो तर, स्थान छनोट नगरी डिपिआर तथा टेन्डर आह्वान गरिएको शाहिले बताए । घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यले फराकिलो ठाउँमा नगरपालिकाले भवन निर्माण गर्नुपर्ने बताए । छनोट गरिएको स्थानमा पर्याप्त मात्रामा जग्गा नहुदा भवन निर्माण गर्दा समस्या हुने बताउदै अध्यक्ष आचार्यले सुखड – साडेपानी बजारको बिचमा रहेको सामुदायिक बनमा फराकिलो ठाउँ रहेको हुँदा त्यहाँ भवन निर्माण गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै नेपाली कांग्रेसका नगर कार्यबाहक सभापति तथा स्थानीय बम बहादुर सिंहले घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिहरुले गरेका निर्णयहरु विवादित बनेको आरोप लगाए । उनले टेन्डर आह्वान गरेर अन्तिम चरणमा पुग्दा बल्ल जग्गाको विषयमा छलफल गरि पुन: विवादित काम गरेको बताए । उनले भने , “लाखौं रकम लगाएर भवनको डिपिआर तयार गरिदा पनि अझै स्थानको टुङ्गो लागेको छैन । ” सुरक्षाको दृष्टिकोण लगायतका अन्य कुराले सुखड राम्रो हुने हुँदा सामुदायिक बनका पदाधिकारीहरुलाई राखेर छलफल गरि निष्कर्ष निकालेर भवन यहीँ बनाउनु पर्छ , उनले थपे ।

यस्तै शिवशक्ति सामुदायिक वनका प्रतिनिधीले नगरपालिकाले आफू र बनका उपभोक्ता सदस्यहरुसंग! अहिलेसम्म एक पटक पनि छ्लफल नगरी नगरपालिकाले आफुखुशी निर्णय गरेको बताए । नगरपालिकाले एक तर्फी ढंगबाट काम गर्न थालेपछि आफुहरुले बिरोध जनाएको शिवशक्तीका एक प्रतिनिधिले बताए । कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य मालती सार्किले बन उपभोक्ता समुहका सदस्यहरुसंग समन्वय नगरेर भवन निर्माण विवादित बनेको बताइन् । उनले उपभोक्ता समुहका सदस्यहरुसंग छलफल तथा सहमतिपछि भवन निर्माणको थालनी गर्नुपर्ने बताइन् । घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले सबैको सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताइन् । नगरपालिकाको आफ्नै भवन नहुदा न्यायीक समिती , पाहुना भेटघाट तथा सबै काम एउटै कोठाबाट गर्नुपर्ने बाध्यता रहेको उप प्रमुख थापाले गुनासो गरिन ।

१० लाख खर्चगरि डिपिआर तयार

बहु वर्षिय योजना अन्तरगत करिब १८ करोड रुपैयाँमा सपिङ कम्प्लेक्स संगै साढे तिन तले भवन निर्माणको डिपिआर तयार भएको १ बर्ष बितिसक्दा पनि स्थान छनोटमा भने अझै अन्यौलता देखिएको छ ।

नगरपालिकाले स्थान छनोट बिना नै करिब १० लाख लागतमा डिपिआर छनोट गरेको भन्दै स्थानीयहरुले नगरपालिकाको आलोचना गरेका छन् ।

आर्थिक बर्ष २०७५/०७६ मा भवन निर्माणकालागि करिब २ करोड ५० लाख तथा कम्प्लेक्स निर्माणका लागि करिब १ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशिले जानकारी दिए । स्थान छनोट बिना नै किन डिपिआर तयार गर्नु भयो ? भन्ने प्रश्नमा इन्जिनियर जोशिले डिपिआर तयार गर्नको लागि कार्यपालिकाबाट आदेश आएको हुँदा मुनलाइट शिभिल सोलुसनले १० लाखमा डिपिआर तयार गरेको जानकारी दिए ।

स्थान छनोट बिना नै टेन्डर आह्वान

घोडाघोडी नगरपालिकाले भवन निर्माणको लागि टेन्डर आह्वान गरेको समेत खुलेको छ । भवन कहाँ बनाउने भन्ने निर्णय नहुदै यहि जेष्ठ २० गते नगरपालिकाले टेन्डर समेत आह्वान गरीसकेको छ । तर, यता जग्गाको भने हालसम्म पनि टुंगो लागेको छैन ।

नगरपालिकाले शिवशक्ती सामुदायिक वनका प्रतिनिधिहरुलाई नगरपालिका भवन निर्माणको बारेमा जानकारी नदिइ आफुखुशी भवनको डिपिआर तथा स्थान तोकेको पाइएको छ । आर्थिक बर्ष सकिन २ महिना मात्र बाकी रहदा पनि भवन निर्माण कार्यले गति लिन नसक्नु दु:खद कुरा रहेको घोडाघोडी नगरबासीहरुले बताएका छन् ।

यता घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले भवन निर्माणका लागि सामुदायिक बनका पदाधिकारीहरुसंग पटक पटक छ्लफल भएको र उहाँहरु सकारात्मक रहेको बताएका छन् । बनले जग्गा दिने भन्दै स्वीकार गरेपछि मात्र आफुहरुले डिपिआर तयार तथा जेठ २० गते टेन्डर आह्वान गरेको अधिकृत सिंहले बताए । उनले भने , ” यस अघि पनि चरणबद्ब रुपमा छ्लफल भइरहेको थियो , आगामी दिनमा पनि छलफल गरेर उहाँहरुलाई मनाएर मात्र आफुहरुले काम सुरु गर्ने छौ ।” सिंहले सपिङ्ग कम्प्लेक्स र भवन निर्माण भयो भने यहाँका स्थानीयहरुले रोजगार पाउने र व्यवस्थाय तर्फ उन्मुख हुने हुँदा सबैमिली नगरपालिकाको भवन निर्माणमा सहयोग गर्न आग्रह समेत गरे ।