प्रितमलाई स्वागत गर्ने भव्य तयारी
चर्चित भारतीय रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेश्रो स्थान हासिल गर्न सफल इटहरी विश्वआदर्श स्कुलका विद्यार्थी प्रितम आचार्य आज सोमबार नेपाल फर्कँदैछन् । २० हजार प्रतिस्पर्धीलाई पछाडि पार्दै तेश्रो स्थानमा पर्न सफल उनलाई स्वागत गर्न इटहरीस्थित विश्वआदर्श स्कुलको कक्षा ७ मा अध्यन्नरत विद्यार्थीहरू काँकडभिट्टा प्रस्थान गरेका छन् ।
स्कुलकै अनुमतिमा कक्षा ७ का विद्यार्थीहरू र केही शिक्षकहरू प्रतिभावान् विद्यार्थी प्रितम आचार्यलाई स्वागतका लागि काकडभितता प्रस्थान गरेका हुन । स्कुलका विद्यार्थी र शिक्षकसँगै नगरवासीहरू पनि सोही स्कुलको ब्यवस्थापनमा प्रस्थान भएका हुन् । आचार्य इटहरीस्थित विश्वआदर्श स्कुलको कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।
इटहरीसँगै नेपालाई विश्वमा चिनाउन सफल प्रितमलाई स्वागत गर्न पाउँदा स्कुलका लागि मात्र नभई सिङ्गो नगरका लागि गर्वको कुरा रहेको विश्वआदर्श स्कुलका व्यवस्थापन समिति अध्यक्ष लेखनाथ घिमिरे बताउछन् ।
यसै गरी ‘सारेगमप लिटिल च्याम्प’मा तेश्रो भएका प्रितमलाई स्वागत गर्नकै लागि इटहरीमा भव्य सांस्कृतिक कार्यक्रम सहितको प्रितम आचार्य एकल साँझ हुने भएको छ ।
(सगरमाथा अनलाइन)