हावाहुरी पीडितको उपचार प्रदेश सरकारले गर्ने - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

हावाहुरी पीडितको उपचार प्रदेश सरकारले गर्ने



धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सबेको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गरी सम्पूर्णका क्षतिको विवरण सङ्कलन गरी राहत घोषणा गर्ने बताए। अहिले सुरक्षा निकायले क्षतिको विवरण सङ्कलन गरिरहेको छ।

मन्त्री शाहले हावाहुरीका कारण विद्युत, खानेपानी, टेलीफोन लगायतका सेवा अवरूद्ध भएको बताए। राजमार्ग अवरूद्ध छैन। कैलालीको हुलाकी राजमार्गमा रूख ढलेकाले आवागमनमा समस्या चाहिँ छ। सुरक्षा निकायलाइ तत्काल सडक सुचारू गर्न निर्देशन दिइसकेको छु, उनले भने।

प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामनासमेत गरेको छ। विपदको घडीमा प्रदेश सरकारले आआफ्नो ठाउँबाट सहयोग गर्न समेत अपील गरेको छ।

बिहीबार रातिको हावाहुरीबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ भने एक सय जना घाइते भएका छन्।

कैलालीको टीकापुर नगरपालिका-२, राजीपुरमा कुखुराको खोर भत्किँदा च्यापिएर ४७ वर्षीया लाहानु चौधरीको मृत्यु भएको हो भने कैलालीकै गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक वीरबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।

कैलालीमा हावाहुरीमा परी ७६ र चट्याङबाट १ गरी ७७ र कञ्चनपुरमा २३ जना घाइते भएका  थिए। घाइतेमध्ये कञ्चनपुरका १५ र कैलालीका ६६ जना सामान्य उपचार गरी घर फर्किएका छन्।

कञ्चनपुरका ८ जनाको कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सुरक्षा प्रमुखहरूका अनुसार १० जना गम्भीर अवस्थामा छन्। तीमध्ये दुई जनालाई भारत, दुई कोहलपुर, दुई पदमा, तीन सेती अञ्चल र एक जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, नेकपा कैलालीले प्रेस विज्ञप्ति जारी गरेर हावाहुरीबाट पीडितको उद्धार, उपचार गर्न, राहत दिन र पुनर्निर्माण गर्न माग गरेको छ। नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयले पनि पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ।

नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले घाइतेहरूको उपचार र क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्तिको व्यवस्था गरी जनतालाई राहत दिन सरकारसँग माग गरेको छ।