काठमाडौँ उपत्यकामा आइतबार सार्वजानिक विदा - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

काठमाडौँ उपत्यकामा आइतबार सार्वजानिक विदा



काठमाण्डौँ

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आइतबार (२६ जेठ २०७६) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

गृहमन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो। सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्सेनि बिदा दिँदै आएको छ।

रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिने गरिन्छ। ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुहुनेछ।

भोटो देखाउने जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलको थटिटोलबाट तानेर जावलाखेल ल्याइएको छ। रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। काठमाडौँ उपत्यकाका नेवार समुदायको विशेष पर्वको रूपमा परिचित छ।

मच्छिन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो? भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ। जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङमतीमा रहेको मन्दिरमा पुर्‍याउने चलन रहिआएको छ।

मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहीमा पुर्‍याएपछि मच्छिन्द्रनाथको रथ यात्रा समापन हुने गरेको छ।

बौद्ध धर्मावलम्बीहरुले करुणामय र सिद्धेश्वरका रूपमा पुज्ने मछिन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाण्डौका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ।