पण्डितको अनुपस्थितिको सांसदद्वारा विरोध - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

पण्डितको अनुपस्थितिको सांसदद्वारा विरोध



काठमाडौँ – संसदीय समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरूले उनको कडा आलोचना गरेका छन् । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनका विषयमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पण्डित नआएपछि उनको तीव्र आलोचना भएको हो । सो बैठक शुक्रबार(जेठ २४)का लागि बोलाइएको थियो।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्ने विषयमा पनि मन्त्री पण्डित जिम्मेवार नभएको भन्दै आपत्ति जनाए । उनले संविधानविपरीत खुलाइएको सो विज्ञापन फिर्ता लिनुपर्नेमा त्यसको बचाऊ गर्दै मन्त्री पण्डितले सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आलोचना गरे ।

सांसद बडुले संविधानविपरीत हुने गरी खुलाइएको विज्ञापन तत्काल खारेज गर्न पनि सरकारलाई पुनः आग्रह गरे । स्थानीय तहमा तत्कालका लागि अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्ने व्यवस्था गर्न उनले सुझाव दिए ।