ज्यान मुद्दामा लागेका राधेलाई जोगाउन तरुण दलको प्रदर्शन - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

ज्यान मुद्दामा लागेका राधेलाई जोगाउन तरुण दलको प्रदर्शन



धादिङ : राधे भनिने तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी पक्राउ परेका छन् भने उनलाई पक्राउ गरेकोमा विरोध गर्दै तरुण दल धादिङले प्रदर्शन नै गरेको छ ।

तरुण दल जिल्ला समितिले आफ्ना उपाध्यक्षलाई २४ घण्टाभित्र रिहा गर्न मागसहित चेतावनी दिएको छ । तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माको हस्ताक्षरसहितको विज्ञप्ती जारी गर्दै जिल्ला समितिले जिल्ला प्रहरी कार्यलयको गेटमै प्रदर्शन गरेको छ । साथै पत्रकार सम्मेलन गरी रिहाइको माग गरेको हो ।

प्रहरीले भने बिहीबार राधेलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दामा पक्राउ गरेको हो । उनको साथबाट छुरा समेत बरामद गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारका अनुसार गजुरी गाउँपालिका–२ ताल्ती जाने बाटोमा स्थानीयहरुसँग झगडा गरिरहेको स्थानबाट भण्डारीको समूहलाई पक्राउ गरिएको हो ।

त्यस क्षेत्रका स्थानीयहरु पिकनिक खाएर फर्किएको बेला धारामा फोहोर गरेको विषयमा विवाद उत्पन्न भएपछि भण्डारीको समूहले हातहतियार देखाउँदै महिला बालबालिकाहरुलाई अभद्र व्यवहार गरेको र घटनास्थलमा पुगेको प्रहरीलाई नै कुटपिट गरेको प्रहरी प्रमुख बैदवारको भनाइ छ ।

‘प्रहरीहरुमाथि नै जाइलागेपछि हामीले पक्राउ गरेका हौँ, प्रहरी हवल्दार लालमणि शिवाकोटीको युनिफर्म नै च्यातिएको छ भने उनी घाइते समेत छन् । उनीहरुको साथबाट एक थान छुरी पनि बरामद भएको छ,’ बैदवारले भनेका छन् ।

भण्डारीसँगै सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापा मगर पनि पक्राउ परेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योग र ड्युटीमा खटिएको प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।