मोदीको नयाँ रणनीति - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

मोदीको नयाँ रणनीति



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वटा मन्त्रिपरिषद समिति गठन गरेका छन् । बुधबार गठन गरिएका समितिको उद्धेश्य आर्थिक उन्नति तथा रोजगार निर्माण रहेको बताइएको छ । यी समितिका प्रमुख पनि मोदी नै हुन् ।

आर्थिक उन्नति समितिमा पाँच सदस्य छन् । जसमा गृहमन्त्री अमित शाहसहित निर्मला सीतारमण, नितिन गडकरी र पियुष गोयल रहेका छन् ।

अर्को समितिमा १० सदस्य छन् । यसको उद्धेश्य रोजगार तथा कौशल विकास हुने बताइएको छ । यो समितिमा अमित शाह, निर्मला सीतारमण, पियुष गोयल, नरेन्द्र सिंह तोमर, रमेश पोखरियाल ‘निशंक’, धर्मेन्द्र प्रधान, महेन्द्र नाथ पाण्डेय, सन्तोष कुमार गंगवार र हरदीप सिंह पुरी रहेका छन् ।

भारतमा बिगत एक वर्षको चौथो त्रैमासिक जनवरीदेखि मार्चसम्म जीडीपी वृद्धि दर ५.८ प्रतिशत थियो । यसको कमीले पुरै वर्षलाई असर पारेको बताइन्छ । विकास दर ६.८ प्रतिशत रह्यो जुन ५ वर्षकै सबैभन्दा कम हो ।

लक्ष्य ७.२ रहे पनि यसमा सरकार सफल हुन सकेन । त्यस्तै श्रम मन्त्रालयका अनुसार देशमा २०१७–१८ मा बेरोजगारी ६.१ प्रतिशत थियो ।

यो आंकडा सन् १९७२–७३ को बराबरी हो । ४५ वर्षको तुलनामा बेरोजगारी बढेको हो । हुनत यो रिपोर्टलाई नीति आयोगले खारेज गरिदिएको थियो ।

अब भने मोदी सरकार यो विषयमा गम्भीर भएको छ र समस्या तत्काल समाधान गर्न विशेष योजना बनाइरहेको बताइसकेको छ ।