प्रधानमन्त्री ओलीले भने : ५० वर्ष शासन चलाउने चाहना छ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

प्रधानमन्त्री ओलीले भने : ५० वर्ष शासन चलाउने चाहना छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु बुढो नभएको भए ५० वर्ष शासन चलाउने चाहना भएको बताएका छन्। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘हाम्रो काठमाडौं, हामी बनाउँछौँ’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चाहना व्यक्त गरेका हुन् ।

उनले भने, हेर्दाहेर्दै राजनीति गरेकै ५४ वर्ष बितेछ । उमेर भएको भए ५० वर्ष शासन चलाउँथे, तर तानाशाह बनेर होइन । त्यसकारण युवाहरूलाई भन्छु- उत्पादनशील बन्नुहोस ।

आफूले मुलुक बनाउने भावना नभएको पाएपछि देश बनाउनु पर्छ भन्‍ने अठोटका साथ ०७२ फागुन ४ गते ‘मै बनाउँछु मेरो धरहरा अभियान सुरू गरेको स्मरण गरे । उनले भने, “शिशिर योगी देश बनाउने मान्छे खोज्दै गीत गाउँदै हुनुहुन्थ्यो । मैले भनेँ- यो देश बनाउने मान्छे तपाईं नै हो । म बनाउँछु मेरो धरहरा यसर्थ भनेँ- मेरो देश भन्ने भावना नभएर देश बनेन । मैले देश बनाउँछु भनेर अठोट नलिएकाले बनेन ।”

ओलीले विश्‍वमै नेपाल एक सम्पन्न राष्ट्र भएको उनले बताए । भने, “चौरासी व्यञ्जन हामी कहाँ मात्रै छ । साँस्कृतिक बाजागाजा छ । हामी नोटमा मात्रै गरिब छौं । जति पुँजी छ त्यतिमात्रै छाप्न मिल्छ । सबै चिज भएर गरिब । पुँजीकृत भएन । आधुनिकीकरण गर्न सकेनौँ । अब पुरानो हिफाजत गरेर नयाँ निर्माण कार्य अघि बढाइन्छ ।”

उनले नेपाल कृषिमा अल्झिएको र दुई तिहाइ जनसंख्या निर्वाहमुखी भएको बताए । “२०५१ को बजेटले दुर्गम गाउँ सुगम बनायो, यो बजेटले स्तरवृद्धि गर्छ । युवाहरूलाई बताउँ इजरायलबाट कृषि प्रविधि ल्याउँदैछु”, प्रधानमन्त्री ओलीले भने, “अरु देशमा तेल भएका ठाउँमा तेलमात्रै छ । यहाँ त ढुंगा पनि शिलाजित छ । सुनदेखि फलामखानीसम्म छ । माटो सिम्रिक बन्छ । झार पनि तुलसी बन्छ । पूजा गरे पनि भयो, घाँटीमा कण्ठी लगाए पनि भयो ।”

प्रधानमन्त्री ओलीले चीनलाई ४० वर्षअघिसम्म कसैले भात खुवाउन नसक्‍ने प्रसंग उल्लेख गर्दै भने, “एक अर्ब ४० करोडलाई भात खुवाउन हाम्रो देशको सिंगै बजेट लाग्थ्यो, १५ खर्बजति । १९४७ मा बनेका देश, त्यतिबेला आधापेट खान्थे, अहिले चार छाक खाएर दुई गुणा बेच्छन्, मरुभूमि हराभरा छन् ।”

चाँगुनारायणले १८ सय वर्षदेखि डाँडामा बसेर हेरिरहेको बताउँदै उनले प्रश्‍न गरे, “पेरिस कसरी बन्यो, अमेरिका कहिले पत्ता लाग्यो ? एसिया कसरी पछाडि पर्‍यो ?”