मानव संसाधन निर्माण पहिलो प्राथमिकता : डा. युवराज खतिवडा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मानव संसाधन निर्माण पहिलो प्राथमिकता : डा. युवराज खतिवडा



काठमाडौँ –

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संसाधन(ह्युमन क्यापिटल) निर्माण र त्यसको अधिकतम प्रयोगको विषयलाई सबैभन्दा बढी प्राथमिकतामा राखेको बताएका छन्।

विश्व बैङ्कले काठमाडौँमा आयोजना गरेको ‘ह्युमन क्यापिटल फोरम प्रोग्राम’मा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता निर्धारण गर्दा मानव संसाधनमा लगानी गर्ने विषयलाई पहिलो नम्बरमा राखेको बताएका हुन्।

सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट १६ प्रतिशतले बढेकोमा शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रको बजेट २२% सम्म बढेको भन्दै अर्थमन्त्री खतिवडाले विकासका पर्याय र साधनका रूपमा दक्ष जनशक्तिको निर्माण तथा आवश्यक मानव संसाधन निर्माणको विषयलाई लिएको बताएका छन्।

ठूलो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले छोटो समयका लागि मात्र नभई दिगो विकासका लक्ष्य प्राप्तिसम्मका दीर्घकालीन रणनीतिको उद्देश्य प्राप्तिका लागि दक्ष र सक्षम मानव संसाधन निर्माण एवम् त्यसको अधिकतम प्रयोगलाई सरकारले आफ्नो प्राथमिकतामा राखेको उनको भनाइ छ।

‘हामीले बजेटमा स्वास्थ्य, शिक्षा र रोजगार क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकताका क्षेत्र भनेर परिभाषित गऱ्यौँ। जसको मूल उद्देश्य सबल र सक्षम मानव संसाधन निर्माण गर्नु हो,’ अर्थमन्त्री खतिवडाले भने।

विश्व बैङ्कले आयोजना गरेको उक्त कार्यक्रमको भुटान सह-आयोजक रहेको छ।