बीपी कोइरालाको घरमा फेरि किन लाग्यो ताला ? - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

बीपी कोइरालाको घरमा फेरि किन लाग्यो ताला ?



काठमाडौँ । सरकारले मोरङको विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मीको युनिट हटाएको छ ।

मातृका, बीपी र गिरिजाप्रसाद कोइरालालगायत देशलाई विभिन्न समय तीन प्रधानमन्त्री दिने निवासलाई दुई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले सुरक्षा दिँदै आएको थियो ।

कोइराला निवासलाई नेपाली प्रजातान्त्रिक आन्दोलन र काँग्रेसको इतिहासको धरोहरका रूपमा लिने गरिन्छ । सुरक्षा युनिट फिर्ताको निर्णयबारे स्थानीय प्रहरी–प्रशासनले भने अनभिज्ञता जनाएको छ । यसअघि सशस्त्र प्रहरीका असईको नेतृत्वमा १४ जनाले निवासको सुरक्षा गर्दै आएका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी भन्छन्, ‘स्थानीय प्रशासनले सशस्त्र प्रहरीको टुकडीलाई हटाएको होइन । गृह मन्त्रालयले हटाएको होला । यसबारे हामीलाई केही पनि थाहा छैन ।’

गत बिहीबार सशस्त्र प्रहरी सरकारले फिर्ता बोलाएको भन्दै सामान लिएर हिँडेपछि निवास सुरक्षाविहीन भएको बताइएको छ । सशस्त्र प्रहरीको युनिट हटाइएपछि निवासमा हाल सुरक्षाका लागि कोइराला परिवारका सहयोगी लक्ष्मीसहित चार जना बस्दै आएका छन् ।

निवासका कुनै पनि कोठामा कहिल्यै साँचो लाग्दैनथ्यो । प्रहरी हटाएपछि आमा नोना, गिरिजाबाबु र अहिले शेखर कोइरालाले प्रयोग गर्ने कोठामा साँचो लगाइएको छ ।

यो निवासलाई काँग्रेस र अन्य राजनीतिक दलका नेता र कार्यकर्ताले ऐतिहासिक धरोहरका रूपमा लिँदै आएका छ । काँग्रेसका कतिपय नेताहरू विराटनगर आउँदा यही निवासमा अझै पनि बस्ने गर्छन् । मुलुकका विभिन्न भागबाट विराटनगर घुम्न र शैक्षिक भ्रमणमा आउने टोली एकपटक यो निवासमा पुगेकै हुन्छन् । कोइराला निवास संग्राहलय जस्तो छ । घुम्न पुग्नेहरूका लागि सधैँ खुला छ ।