योगेश भट्टराई भन्छन : पत्रकारको नाक भाँच्ने मेयरको प्रशंसक हुँ
काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीले पत्रकारको नाक भाँच्नका लागि एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तासमेत रहेका मेयर चौधरीले विभिन्न संचारमाध्यममा अन्तरवार्ता दिँदै आफ्ना भनाइको प्रतिरक्षा गर्नुका साथै कानुन हातमा लिने चेतावनी खुलेआम दिइरहेका छन् ।
यही परिस्थितिमा नेकपाका युवा नेता तथा सांसद योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत मेयर चौधरीलाई सुझाव दिएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘म द्वारिकाजीको हकी स्वभाव, प्रष्ट वक्ता र इमानदारिताको पहिलेदेखि कै प्रशंसक हुँ ।’
उनले अगाडि लेखेका छन्, ‘तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयं उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयं उहाँको राजनीतिक उचाईका लागि कदापी सुहाउँदैन ।’
भट्टराईले मेयर चौधरीलाई आफ्ना भनाइप्रति आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन अनुरोधसमेत गरेका छन् ।