के होला ओली,प्रचण्ड र नेपाल बीच गोप्य छलफल ?

काठमाडौं– पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन् ।
दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । यसअघि पटक–पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेको थियो ।
माधव नेपालले पार्टीमा दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन् । तर, उनीसँग बिहान भएको छलफलमा के कुरा भयो भन्ने खुलेको छैन । यद्यपि ओली पक्षका नेताहरुले छलफल सकारात्मक भएकाले दिउँसो बैठक बोलाइएको बताएका छन् ।
एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा नेकपाले विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन । संगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुको दाबी छ ।
विशेष गरी संगठन विभागका लागि सचिवालयका सदस्यहरू नै आकांक्षी भएपछि भागबन्डा मिलाउन नेतृत्वलाई सकस भएको हो ।
बैठकमै सहभागी विष्णु पौडेल र माधवकुमार नेपाल पनि संगठन विभाग हाँक्न चाहन्छन् । गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा हुँदा तीन महिनाभित्र कार्यविभाजन सक्ने भनिएको थियो ।
वर्षदिन बित्दासमेत नेकपामा दोस्रो तहभन्दा तलका नेता कार्यकर्ता जिम्मेवारीविहीन छन् । यसअघि सोमबारका लागि बोलाइएको सचिवालय बैठक पनि नेताहरूबीच सहमति नजुट्दा आजका लागि सरेको थियो ।

