नवलपरासीमा हावाहुरी : एकको ज्यान गयो, दर्जर्नौं घरमा क्षति

कावासोती । हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । आइतबार बेलुका आएको हुरीले घरका छतहरू उडाउनुका साथै अन्य धेरै क्षति भएको बताइएको छ ।
हावाहुरीका कारण घरकजस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए ।
जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।
हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताए । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए । हावाहुरीले घरको छानो उडाइदिएको छ ।
हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

