योगेशले भने : भारतले ८ करोड दिन्छ, नेपालमा ६ करोड बाँड्दा किन बिरोध - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

योगेशले भने : भारतले ८ करोड दिन्छ, नेपालमा ६ करोड बाँड्दा किन बिरोध



काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले आगामी वर्षका लागि प्रस्तुत गरिएको बजेट २०५१ साल पछिकै उत्कृष्ट रहेको दाबी गरेका छन्। आज प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्।

‘०५१ को सरकारले सम्बन्धको परिभाषा गरेको थियो। सत्ता नागरिकमाथिको मात्र हो भन्ने परिभाषा बदलेको थियो। निजी क्षेत्रमात्र विकासको साधक हो भन्ने अवधारणा फेरको थियो। सामाजिक सुरक्षाको कार्यक्रम ल्याएको थियो,’ बजेटको बचाउ गर्दै उनले भने ,’अहिले माननीय अर्थमन्त्री ०५१ को उत्तः परिकल्पनको निरन्तरता दिँदै बजेट ल्याउनुभएको छ। यो बजेटमा नयाँ सन्दर्भमा आफ्नो गाउँ आफै बनाउको व्यवस्था गरेको छ। संविधानले उल्लेख गरेको अर्थतन्त्रको चरित्रलाई सन्तुलित ढंगले अघि बढाउने परिकल्पना गरेको छ। तीन खम्बे अर्थतन्त्रलाई सन्तुलित रुपमा अघि सारिएको छ।’

अघिल्लो वर्ष संघीयताको जग मानिएको उल्लेख गर्दै उनले बजेटले आगमी वर्ष द्रुत आर्थिक विकासको वर्ष मानिएको बताए। भने, ‘अर्थमन्त्रीले बजेटमा यसलाई प्राथमिकता दिनुभएको छ। हुलाकी राजमार्गले दक्षिण सीमाको आर्थिक र सामाजिक स्थरलाई माथि उठाउनेछ। यसलाई प्राथमिकता दिइएको छ। मध्यपहाडी लोकमार्गले पहाडी भेगको जनातको आर्थिक क्षमता बढाउनेछ। यसमा बजेट वृद्धि भएको छ।’

बजेटमा सकारात्मक विषय प्रशस्त रहेको दाबी भट्टराईको थियो। ‘पूर्व पश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नतीको कुरा पनि उल्लेख्य छ। गौतमबुद्ध र पोखरा विमानस्थलको कामा आगमी वर्ष सक्ने विषय सकारात्मक छ,’ उनले भने, ‘माथिल्लो तामाकोशी लगायत आगामी वर्षमा सक्ने विषय सकारात्मक छ। यसले अन्य क्षेत्रमा पनि सकारात्मक छ। भारतसँग हामीले गरेको आयातलाई प्रतिस्थापन गरेर वार्षिक २० अर्ब हाराहारीको खर्च रोक्नेछ। पेट्रोलियम पदार्थको खपत न्यून गरी वैदेशिक व्यापार सन्तुलनमा सहयोग गर्नेछ।’

कतिपयले बजेटको नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै उनले बजेटले लोककल्याणकारी राज्यको अवधारणलाई आत्मसात गरेको बताए। भने, ‘भन्नेले त यसलाई छरिएको भनेका छन्। तर, जनसंख्याको ठूलो हिस्सा कमजोर रहेको अवस्थामा यो कुरा जायज छ।’

उत्पादन र वितरणको सन्तुलित प्रस्ताव पनि बजेटले गरेको तर्क गर्दै भट्टराईले वित्तीय सन्तुलन र सिद्धान्तको हिसाबले बजेट उपयुक्त भएको दाबी गरे।

सांसदलाई दिने भनिएको रकमबारे अनावश्यक टिप्पणी नगर्नसमेत उनको आग्रह रह्यो। भने, ‘सांसद्लाई दिएको रकम कसैले व्यक्तिगत रुपमा चलाउँदैन योजना छनोटका अधिकारमात्र हो। किन गलत टिप्पणी भइरहेको छ। अहिले पनि भारतले आठ करोड रुपैयाँ सांसद्बाट खर्च गर्छ। हामी यसको विपक्षमा हो भने साहसका साथ सबैले भनौँ। बहस गरौँ। हैन भने अनावश्यक टिप्पणी नगरौँ।’