सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै कञ्चनपुरमा स्थानीयले गरे सडक बन्द

कञ्चनपुर । कञ्चनपुरको दक्षिणीभेगमा निर्माणाधीन डोकेबजार-दैजी हुलाकी सडक आयोजनाको काम सुस्त गतिमा भएको भन्दै स्थानीयहरुले शनिबार २ घन्टा सडक बन्द गरेका छन् । पुनर्वास नगरपालिकाको दोदापुलमा स्थानीयहरुले ढुंगामुढा लगाएर बिहान १० बजे देखि १२ बजे सम्म बाटो बन्द गरेका हुन् ।
२०७३ माघ महिनामा ३० महिना भित्र काम सक्नेगरि ठेक्का दिएको शर्मा राजेन्द्र जेभी कन्स्ट्रक्सनले सम्झौता समय सकिनै लाग्दा समेत ५० प्रतिशत काम सम्पन्न नगर्दा स्थानीय आक्रोशित बनेका हुन । पुनर्वास धनगढीको बाटो धुलोले आक्रान्त बनाएको छ । ठेकेदार तथा नेता भिम साउदको शर्मा राजेन्द्र जेभी कन्स्ट्रक्सनको यस लापरबाहीबाट आजित बनेर पुनर्वासी सडक बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका हुन ।
आन्दोलनको नेतृत्व गरेका स्थानीय युवा हेमन्त रेग्मीले “ठेक्का लिएर सडक अलपत्र बनाउने ठेकेदार कम्पनीको लापरबाहीको विरुद्धमा आन्दोलन गर्नु परेको बताए । ठेकेदार कम्पनीले असारसम्ममा दोदापुलसम्म कालोपत्रे गर्ने र नियमित पानी हाल्ने प्रतिबद्धता जनाएपछि अहिले सडक सुचारु गराएको जानकारी दिए ।
यता ठेकेदार कम्पनीका इन्जिनियर रोशन भट्टले पहिले काम अलि सुस्त गतिमा भएपनि अहिले भने काममा तिब्रता दिईएको बताए । डोकेबजारदेखि दोदा नदिसम्म जसरी पनि असार मसान्तसम्म कालोपत्रे गर्ने बताउदै इन्जिनियर भट्टले सडकमा नियमित रुपमा पानी हाल्न लगाएको समेत बताए ।

