योगेश भन्छन : देशभित्रैका जयशंकरहरुबाट बढी खतरा छ
काठमाडौं– भारतमा एस जयशङ्कर विदेशमन्त्री भएपछी नेपाल तरङ्गमय बनेको छ । यसैबीच सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले देशभित्रैकै जयशङ्करहरुबाट देशलाई खतरा भएको बताएका छन् ।
नेपालमा २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको डिजाइनर भनेर चिनिएका एस जयशंकर नरेन्द्र मोदीको नयाँ सरकारमा विदेशमन्त्री भएपछि उनको चर्चा नेपालमा पनि चलिरहेको छ। यसै सन्दर्भमा सत्ताधारी दलका प्रभावशाली नेताले उनलाई जोडेर ट्विट गरेका हुन्।
जयशंकर मन्त्री भएपछि नेपालमा पर्ने प्रभाववारे अनुमानहरु भइरहेका बेला भट्टराईले भने दिल्लीका जयशंकरको चिन्ता नगर्न आग्रह गरेका छन्।
नेपालमा ४ वर्षअघि नयाँ संविधान जारी गर्ने अन्तिम तयारीका बेला मोदीको विशेष दूतका रुपमा जयशंकर काठमाडौं आएका थिए। उनले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई भेटेर संविधान रोक्न दबाब दिएका थिए।