बामदेवले भने - सरकार परिवर्तन नभए पार्टी फुट्छ - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

बामदेवले भने – सरकार परिवर्तन नभए पार्टी फुट्छ



प्यूठान – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लङ्घन भए पार्टी एकता सम्भव नभएको बताएका छन् ।शुक्रबार प्रेस सङ्गठन प्यूठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘जे सहमति भएको हो, त्यो हुन्छ कसैले उल्लङ्घन गर्दैन ।’

सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनपक्षीय भएको नेता गौतमले उल्लेख गरेका छन् । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी गरे । बैदेशिक ऋण बढी भयो भन्ने पत्रकारहरूको जिज्ञसामा उनले भने, ‘ऋण लिनै पर्छ विकासका लागि विकसित देशहरूले पनि लिएका छन् ।’

स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरू उत्खनन् गर्नुपर्नेमा उनले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरू छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने भन्दै उनले भने, ‘सिस्टममा केही अफ्ठ्यारा छन्, अव सफ्टवेयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ ।’

मिडिया काउन्सिल विधेयक, सार्वजानिक खरीद ऐन लगाएका थुप्रै ऐनहरू संशोधन तथा नयाँ कानुनहरू निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाई छ । भ्रष्टाचार नहोस् भनि बनाइएको सार्वजनिक खरीद ऐनले गैरकानुनी काम झनै बढेको उनको दाबी थियो ।

पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे । एकाध हुने अपराधिक घटनाको छानबिन गर्न सवै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाई थियो । आफू पनि नेपाली काङ्ग्रेसको सपोर्टर उल्लेख गर्दै उनले असल प्रतिपक्षको भूमिका निर्वाह गर्न काङ्ग्रेसलाई आग्रह गरे ।