हावाहुरीसहित वर्षा – मौसमको यस्तो खतरा
काठमाडौं । मनसुनको पूर्वसन्ध्यामा अपराह्नपछि मौसम बदली भई हावाहुरीसहित वर्षा सुरु भएको छ । बुधबार र बिहीबार अपराह्नपछि अचानक वर्षा हुँदा सवारी आवागमनसमेत प्रभावित भएको थियो । प्री मनसुनको समयमा बिहानको समयमा आकाश खुला भए पनि अपराह्नपछि एक्कासि बादल लागेर हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौंमा बुधबार २० मिलिमिटर पानी परेको थियो । पानी पर्ने क्रम बिहीबार पनि रोकिएको छैन । बिहीबार उज्यालो नहुँदै सुरु भएको पानी पर्ने क्रम दिउँसो फेरि सुरु भएको थियो ।
महाशाखाले अझै तीन दिन साँझपख पानी पर्ने बताएको छ । मध्य जेठमै किन आरीले घोप्ट्याएजस्तो पानी परिरहेको छ त ? कि मनसुन सुरु भइसकेको हो ? भन्ने जिज्ञासामा माहाशाखाले अहिले प्री–मनसुन चलिरहेकाले पानी पर्नु स्वभाविक भएको बताएको छ । ‘मनसुन सुरु भएको होइन, स्थानीय प्रणालीका कारण पानी परेको हो,’ महाशाखाका मौसमविद् शान्ति कँडेलले भनिन्, ‘पानी सानो क्षेत्रमा मात्र परेको छ । एक ठाउँमा पर्दा अर्को ठाउँमा नपरेको हामीले पाएका छौं ।’
उनले मनसुन सुरु हुँदा पूर्वबाट देशभरि फैलिने जानकारी दिइन् । ‘हाम्रोमा सामान्यतः १० जुन अर्थात् यस वर्ष २७ जेठबाट मनसुन आउँछ । त्यो आइसकेको छैन । किनकि अहिले पनि तराई पूरै सुख्खा छ, पश्चिम पहाडमा पनि पानी परेको छैन,’ उनले भनिन्, ‘अहिले पोखरासम्मका पहाडी क्षेत्रमा पानी परेको हो ।’
महाशाखाका अनुसार प्री–मनसुनका बेला जमिन तातेर जलवाष्प माथि जान्छ र बादल बनेर वर्षा हुन्छ । ‘धादिङको जलवाष्प माथि गएर बादल बनेपछि हावाले काठमाडौं पनि ल्याउन सक्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘त्यसैले यो धेरै फैलिन पाउँदैन, केही घण्टामै पानी पर्न रोकिन्छ ।’
उनले वायुमण्डलको माथिल्लो भागमा बन्ने न्यूनचापीय रेखाले पनि पानी पार्न सघाउने बताइन् । ‘अहिले पूर्वी र मध्य क्षेत्रमा न्यूनचापीय रेखा बनेको छ,’ उनले भनिन्, ‘जमिनबाट जलवाष्प पाउनासाथ वर्षा हुन त्यसले सघाउँछ, अहिले अलिकति बंगालको खाडीबाट पनि जलवाष्प आएको छ ।’
हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हलुका तथा मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । सो प्रणालीको प्रभाव शनिबारसम्म रहनेछ । बिहीबार देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भए पनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनायो ।
शुक्रबार देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हलुका वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ । त्यस्तै, पूर्वी तथा मध्य भागका केही स्थान र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।