डोजर चलाउने बादल निकट कँडेल निलम्वित
चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’ चितवनको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार कँडेलसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याएको तथा धम्क्याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा चलाउन सकिने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।
भरतपुर महानगरपालिका–१६ का कँडेल ठेक्कापट्टामा समेत संलग्न छन् । गृहमन्त्री रामबहादुर थापा (बादल)निकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।