मोदीकी कट्टर विरोधी ममता किन जाँदैछिन् सपथ ग्रहण समारोहमा - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

मोदीकी कट्टर विरोधी ममता किन जाँदैछिन् सपथ ग्रहण समारोहमा



चुनावी मैदानमा भारतीय जनता पार्टी (भाजपा) की घोर विरोधी ममता बनर्जी बिहीबार आयोजना हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनेछिन् ।

ममता बनर्जीले राष्ट्रपति भवनले पठाएको निमन्त्रणालाई स्वीकार गर्दै सपथग्रहण कार्यक्रममा जाने जानकारी दिएकी छिन् ।

ममताले समाचार एजेन्सी एएनआईसँग भनिन्, ‘मैले अहिलेसम्म अन्य राज्यका मुख्यमन्त्रीसँग पनि कुराकानी गरेको छु । उनीहरू राष्ट्रपति भवनमा हुन लागेको कार्यक्रममा सहभागी हुनेछन् । यस्तोमा म पनि यो कार्यक्रममा सहभागी हुनेछु ।’

३० मे बेलुकी सात बजे राष्ट्रपति भवनमा नरेन्द्र मोदी प्रधानमन्त्रीको पद र गोपनीयताको सपथ लिनेछन् । राष्ट्रपति भवनले यसबारे जानकारी दिएको थियो।

सन् २०१४ मा ममता सपथ ग्रहण कार्यक्रममा गएकी थिइनन्ः

पार्टी स्रोतका अनुसार चुनावको क्रममा बङ्गालमा भएको हिंसा र राजनीतिक दलबीचको तनावपछि ममता बनर्जीले सपथ ग्रहणमा सहभागी हुने निर्णय गरेकी हुन् । मुख्यमन्त्रीले राजनीतिक तनाव कम गर्ने उद्देश्यसहित यस्तो निर्णय गरेको पार्टी स्रोत बताउँछ । सन् २०१४ मा ममता मोदीको सपथग्रहण कार्यक्रममा सहभागी भएकी थिइनन् तर उनले आफ्नो प्रतिनिधि अमित मित्रा र मुकुल रोयलाई पठाएकी थिइन् । यद्यपि, रोयपछि भाजपा प्रवेश गरेका थिए ।

(एजेन्सी)