भारतीय मिडिया लेख्छन – मोदीको सबैभन्दा बफादार केपी ओली हुन्
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नरेन्द्र मोदीका सबैभन्दा बफादार पात्र बनेको भारतीय मिडियाले जनाएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रमका लागि विदेशी कार्यकारी प्रमुखलाई गरिएका निम्तोमध्ये सबैभन्दा अगाडि भ्रमण ‘कन्फर्म’ गर्नेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली रहेको भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले जनाएको छ ।
सो अनलाइनले एकजना मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको भन्दै प्रधानमन्त्री ओली बिहीबार नै त्यसतर्फ जाने जनाएको छ । उनी बिहीबार साँझ ७ बजे भारतको राष्ट्रपति कार्यालयमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि भोलिपल्ट दुई देशबीच दुईपक्षीय वार्ता हुने बताइएको छ ।
सो समारोहमा बिमस्टेकका सदस्य राष्ट्र तथा किर्गिस्तान र मोरिससका कार्यकारी प्रमुखको पनि सहभागिता हुने बताइएको छ । भारतका विदेश प्रवक्ता रभीस कुमारलाई उद्धृत गर्दै सो अनलाइनमा भारत सरकारको छिमेकी पहिलो नीतिअनुसार नै शपथग्रहण कार्यक्रममा विदेशबाट अतिथी निम्त्याइएको जनाएको छ ।
यसअघि निर्वाचनको मतगणना भइरहेकै बेलामा भाजपा निकै अगाडि देखिएपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई ट्विटमार्फत बधाई दिएको कुराले पनि चर्चा पाएको थियो ।