मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री ओली भारत जाने

नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण कार्यक्रममा आफ्ना छिमेकी मुलुकका समकक्षीहरूलाई निम्त्याउने भएका छन्। दोस्रो पटक कार्यभार सम्हाल्न लागेका उनले सार्क र बिम्स्टेक दुवैका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याउने निर्णय गरेका हुन्।
सम्बन्धित मुलुकका दूतावासहरूले त्यस्तो निम्ता गरिसकेको कूटनीतिक स्रोतले बतायो।
उनले २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा सार्कका राष्ट्र एवं सरकार प्रमुखलाई निम्त्याएर छिमेकलाई प्राथमिकता दिएको संकेत गरेका थिए। तर, मोदीको पहिलो कार्यकाल छिमेकहरूसँग राम्रो सहकार्यबिनै सकिएको छ।
निर्वाचनको मुखमा आएर उनले छिमेकसँग केही नरम नीति लिएर सम्बन्ध सुधारको संकेत गरेका थिए।
मोदीले यसपटक सार्कका नेपाल, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका साथै बिमस्टेकमा रहेका थाइल्याण्ड र म्यानमारका राष्ट्र एवं सरकार प्रमुखलाई समेत निम्तो दिनेछन्। यसको औपचारिक घोषणा गर्ने तयारी रहेको कूटनीतिक स्रोतले बतायो।
प्रधानमन्त्री केपी शर्मा ओली मोदीको शपथग्रहण कार्यक्रममा जाने तयारी गरिसकेका छन्। उनले सोमबार जानकारी पाए लगत्तै आउने जानकारी गराइसकेको अधिकारीहरूले बताएका छन्। मौखिक जानकारी भइसकेको तर औपचारिक जानकारी हुन बाँकी रहेको अधिकारीहरूले बताए।
दिल्लीस्थित नेपाली दूतावासले भने यसबारे औपचरिक जानकारी आइनसकेको बताएको छ। तर शपथमा निमन्त्रणा गरेमा उच्चतहबाट सहभागिता हुने जानकारी भने उसले दिएको छ।

