नेताहरूमाथि राहुल गान्धीको गम्भीर आरोप - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

नेताहरूमाथि राहुल गान्धीको गम्भीर आरोप



भारतीय काङ्ग्रेसका वरिष्ठ नेताहरू कमलनाथ, अशोक गहलोत र पी. चिदम्बरम जस्ता नेताले आफ्ना छोराहरूलाई पार्टीको हित भन्दा पनि माथि राखेको आरोप राहुल गान्धीले लगाएका छन्। पार्टीको भन्दा आफ्नो हित धेरै चाहेकाले समस्या आएको उनले बताए।

टाइम्सअफ इन्डियाले जनाएअनुसार पार्टीका नेताले आफूले उठाएका मुद्दालाई अघि बढाउन या तल्लो तहसम्म लैजान नसकेको अध्यक्ष राहुल गान्धीले बताएका छन् । नेता ज्योतिरादित्य सिङ्घियाले काङ्ग्रेसमा स्थानीय स्तरमा सक्रिय र सबल नेताको आवश्यकता रहेको कुरा अगाडि राखेपछि राहुल गान्धीले यस्तो बताएका हुन् ।

काङ्ग्रेस पार्टीको सरकार रहेको राजस्थान तथा मध्य प्रदेशजस्ता राज्यमा पनि स्थानीय नेताहरूको कमजोरीका कारण लोकसभा चुनावमा काङ्ग्रेसको हार भएको उनले बताए।

राहुलको दाबी अनुसार मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथ र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले आफ्ना छोरालाई टिकट दिलाउन जिद्दी गरेका थिए। आफू उनीहरूलाई टिकट दिने अवस्थामा नरहे पनि उनीहरूकै जबरजस्तीका कारण टिकट दिन बाध्य भएको उनको भनाई छ ।

लोकसभा चुनावमा आफ्नो पार्टीले बेहोरेको हार समीक्षा गर्न शनिबार बसेको काङ्ग्रेसको वर्किङ कमिटिको बैठकमा राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए । पार्टीका वरिष्ठ नेताहरूले त्यसलाई सो प्रस्ताव ठाडै अस्वीकार गरे।

राजीनामाको प्रस्ताव राहुलले गर्दा बैठकको माहोल भावुक भएको उल्लेख समाचारमा छ। पार्टीका नेताहरूले उनलाई मनमा सानो नपार्न आग्रह पनि गरेका थिए।