जनकपुरमा किन चलायो प्रहरीले गोली ? - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

जनकपुरमा किन चलायो प्रहरीले गोली ?



जनकपुरधाम – प्रहरीले गोली हानेर जनकपुरबाट डाँका पक्राउ गरेको छ। बुधबार राती जनकपुरधाम-८ बाट प्रहरीले गोली हानेर डाँकालई पक्राउ गरेको हो। पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइको छ।

जनकपुरधाम-८ स्थित विहारकुन्डमा डाँका हाल्ने उदेश्यले आएका उनीहरु मध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएका छन्। घाइते डाँकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिएका छन्। यसैगरी आठ जनाको समूहमा रहेका उनीहरु सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएको पालले बताए। डीआइजी पालका अनुसार सात जनालाई घटनास्थल र एकजनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

विहारकुन्डका महन्थले हालसालै बेचेको जग्गाको पैसा लुट्ने उदेश्यले भारतीय डाँकाको समूह आएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका उनीहरु भारतमा समेत लुटपाटजस्ता आपराधिक घटनाहरुमा संलग्न रहेको बताइको छ। जनकपुरमा डाँका हाल्नपूर्व दिउँसो उनीहरु एक होटलमा बसेको र त्यहीँबाट योजना बनाएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।