प्रधानमन्त्रीको कदमले निरंकुशताको संकेत दियो :पौडेल

धादिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको टिप्पणी गरेका छन् ।
धादिङमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुसँगको भेटमा नेता पौडेलले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा देखाउने दाँत मात्र भएको आरोप लगाए ।
भष्ट्राचार, कुशासन, अनियमितता, अराजकता, बेथितिले सीमा नाघ्दा समेत प्रतिक्रिया विहिन रहेको सरकारबाट समृद्धिको कुनै आशा गर्न सकिन्न’ पौडेलले भने ।
प्रेस माथिको नियन्त्रण, सुरक्षा परिषद्को निर्णय विना सेना परिचालनको अधिकार, महत्वपूर्ण सरकारी कार्यालयहरुलाई आफ्नै अधिनमा राख्ने जस्ता प्रधानमन्त्रीका कदमले निरंकुशताको संकेत दिएको पौडेलले बताए ।
नेपाली काँग्रेसले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने भएकाले जनजागरण अभियानलाई एउटा अवसरको रुपमा लिई पार्टी सुदृढिकरणमा लाग्ने उनले निर्देशन दिए । सरकारका सबै खाले गलत क्रियाकलापको भण्डारफोर गर्ने बेला आइसकेको भन्दै उनले संगठित भएर अघि बढ्न सुझाव दिए ।
‘जनजागरण अभियान पार्टीको अधिवेशन लम्ब्याउने नियोजित षडयन्त्र पनि हुन सक्छ, यद्यपी यसको सदुपयोग गर्दै पार्टी सुदृढिकरणमा लाग्नुको विकल्प छैन’ पौडेलले भने ।

