कार्यकक्षमै उपमेयरलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्कि - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कार्यकक्षमै उपमेयरलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्कि



विशाल पाण्डेय/कैलाली 

घोडाघोडी नगरपालिका उपप्रमुख प्रेम कुमारी थापालाई ज्यान मार्ने धम्कि दिएको खुलेको छ । थापालाई अपरिचित व्यक्तिले पैसा माग्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

अपरिचित व्यक्तिले त्यस्तै परे बलात्कार गर्न सक्छु भन्दै  धम्क्याएको पनि बताइएको छ ।

सोमबार आफ्नै कार्यकक्षमा बसिरहेको बेला दुईजना अपरिचित व्यक्ति प्रवेश गर्दै आफूलाई पैसा दिनु पर्‍यो, होइन भने जागिर दिनु पर्‍यो, म पैसाको लागि मर्न र मार्न पनि तयार हुने मान्छे हो भन्दै धम्क्याएको प्रहरीले जानेको छ । उपप्रमुख थापासहित विद्यालय निरीक्षक उमेश राज रेग्मी र कम्प्युटर अपरेटर अनन्त जोशी बसिरहेको अवस्थामा अपरिचित व्यक्तिले धम्कि दिएको बताइएको छ ।

नगरपालिकामा जोडिएको सीसी टिभी क्यामेराको फुटेज हेरी अपरिचित व्यक्तिको बुधवारबाट खोजी कार्य गरिने घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले बताएका छन् ।

उक्त घटनाको विषयमा इलाका प्रहरी कार्यालय सुखडलाइ मङ्गलवार साँझ मात्र जानकारी गराइएको हुँदा बुधवार तस्बिरबाटै घटनाको अनुसन्धान सुरु गरिने र दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याइने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख यक्ष राज जोशीले बताएका छन् ।