कांग्रेस बलियो विपक्षीका रुपमा प्रस्तुत नहुँदा सरकारको मनपरी: मिश्र - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

कांग्रेस बलियो विपक्षीका रुपमा प्रस्तुत नहुँदा सरकारको मनपरी: मिश्र



बैतडी : साझा विवकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिले सरकार भ्रष्टाचारको आखडा भएको आरोप लगाए।

संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको अभियानअन्तर्गत बैतडीको पाटनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वर्तमान सरकारले गर्दा नै भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाएका हुन्। उनले विकासको नाममा अनियमितता बढेको बताए।

आफू निकटका मान्छेलाई योजना दिने अनि पार्टीका कार्यकर्ताले नै अनियमितता गर्ने गरेका उनको भनाई छ। वृद्धिको नारा दिएर मात्रै देश नबन्ने बताउदै उनले काम गरेपछि मात्रै जनताले विश्वास गर्छन। उनले भने, ‘दुई तिहाइको सरकार भए पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन। विपक्षी दल बलियो रुपमा नउभिँदा वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस समेत बलियो विपक्षीका रुपमा प्रस्तुत नहुँदा सरकारको मनपरी चलेको छ।’

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मात्रभुमको रक्षाका लागि सबैले एकजुट हुनुपर्नेमा संयोजक मिश्रको जोड रहेको छ। यही जेठ १ गते कैलालीको टीकापुरबाट शुरु भएको भ्रष्टाचार विरुद्धको अभियानअन्तर्गत मिश्र सहितको टोली बैतडी पुगेको हो।