प्रधानमन्त्री 'प्रचण्ड'लाई एक रुपैयाँ चन्दा उठाएर सहयोग गर्ने - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

प्रधानमन्त्री ‘प्रचण्ड’लाई एक रुपैयाँ चन्दा उठाएर सहयोग गर्ने



काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चन्दा दिनका लागि एक रुपैयाँ संकलन अभियान थालेको छ।

युवा संघले शुक्रवारबाट काठमाडौंमा एक एक रुपैयाँ चन्दा उठाएर प्रधानमन्त्रीलाई सहयोग गर्ने जनाएको छ।

हालै सार्बजनिक सम्पत्ति विवरणमा प्रधानमन्त्री प्रचण्ड संसारकै गरिब प्रधानमन्त्री भएकाले जनतासँग चन्दा उठाएर दिन लागिएको संघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए ।

‘प्रधानमन्त्रीले नै सम्पत्ति लुकाएकाले सांकेतिक विरोधस्वरुप चन्दा उठाउन थालेका हौं’, प्रवक्ता कटुवालले भने, ‘जनताबाट उठाइएको चन्दा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्छौँ ।’

प्रधानमन्त्रीले सार्बजनिक गरेको सम्पत्ति विवरणमा ३ तोला सुन र चितवनमा १ कठ्ठा जग्गा मात्रै रहेको उल्लेख छ । युवा संघसहितका स‌ंगठनहरुले भने अर्बौँ धन लुकाएकाले विरोध अभियान थालेका हुन् ।

युवा संघले प्रधानमन्त्रीका लागि १ रुपैयाँ चन्दा दिनका लागि शुक्रवार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म नयाँबानेश्वरमा आउन पनि आग्रह गरेको छ ।

एकजनाबाट एक रुपैयाँ मात्रै चन्दा लिने नीति युवा संघले बनाएको छ । आज संकलित चन्दा गनेर राखेपछि प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने तयारी संघले गरेको छ।

यो चन्दा रकम प्रधानमन्त्रीलाई नै भेटेर दिने युवा संघले जनाएको छ । यदि भेट्न नपाए अन्य उपायबाट यो रकम दिने तयारी युवा सं‌घले गरेको छ ।

प्रधानमन्त्री प्रचण्डसँग अकुत सम्पत्ति भएको दाबी युवा सं‌घसहितले गरेका छन् । अकुत सम्पत्ति लुकाएर कानुनी सजायबाट जोगिने कोशिस प्रचण्डले गरेकाले त्यसविरुद्ध यो अभियान थालिएको कटुवालले जानकारी दिए । कारोवार दैनिकबाट