कर्मचारीले घुस खाए कार्यालय प्रमुखलाई पनि कारबाही - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कर्मचारीले घुस खाए कार्यालय प्रमुखलाई पनि कारबाही



काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कर्मचारीले घुस खाए कार्यालय प्रमुखलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार अख्तियार कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले अख्तियारका कर्मचारीलाई सेवाग्राही बनाएर सरकारी कार्यालयमा पठाइरहेको जानकारी दिए ।

घिमिरेले भने, ‘आयोगले सेवाग्राही बनाएर अख्तियारको कर्मचारी बढी आर्थिक कारोबार हुने कार्यालयमा पठाइरहेको छ । अब कर्मचारीले घुस लिएको भेटिए कार्यालय प्रमुखलाई समेत कारबाही गर्छौं ।’

साथै उनले अख्तियारले देशभरका १ हजार ८४८ ठेक्काको विषयमा अनुसन्धान गरिरहेको बताएका छन् । तिमध्ये मुख्य ४७ वटा ठेक्को अनुसन्धानलाई प्राथमिकतामा राखिएको जानकारी पनि उनले दिए ।

‘एक खर्ब ४८ अर्ब रुपैयाँ सरकारी पुँजी व्यवसायीको हातमा रहेको पाइएको छ, यसको विश्लेषण हेर्दा ठेक्काको अवस्था डरलाग्दो छ,’ उनले भने ।

साथै उनले बालुवाटार र जुम्लाको गुठिचौरस्थित सार्वजनिक जग्गा हिनामिनाका घटनालाई प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताए । १ हजार ८४८ ठेक्का र १२० जना कर्मचारीको सम्पत्तिसमेत छानविन गरिरहेको जानकारी उनले दिए ।

देशभर भइरहेको सार्वजनिक जग्गा अतिक्रमण र ठेक्कामा भइरहेको अनियमिततालाई आयोगले गम्भीरतापूर्वक लिएको बताए ।

‘अहिले चर्चामा रहेको बालुवाटारको ललिता निवासदेखि जुम्लामा गुठिचौरको ५९० रोपनी जग्गाको विषयसम्म अख्तियारले अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस कार्यमा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन् ।’