सरकारले गरेका राम्रा कामको प्रचार हुन पाएन:नेता नेपाल - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

सरकारले गरेका राम्रा कामको प्रचार हुन पाएन:नेता नेपाल



पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन् । उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको बताए ।

संविधानसभाका पूर्वसभासाद् अनारकली मियाँको ‘संसद्मा पहिलो पाइला’ पुस्तकको विमोचन गर्दै नेता नेपालले नागरिकले परिवर्तनको अनुभूति गर्ने ढङ्गले सरकारले काम कारवाहीलाई अघि बढाउनुपर्ने बताए । “सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित भएको छ”, उनले भने, “अब बजेटमार्फत जनमुखी र लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ।” नेता नेपालले चुनावमा गरेका प्रतिबद्धता बजेटमार्फत सम्बोधन गर्न नसकिए सरकारप्रतिको विश्वास घट्दै जाने बताए । उनले पार्टी एकताले पूर्णता पाइसकेको भन्दै अब केही दिनमै पोलिटब्यूरो गठन हुने बताए ।

“मियाँ सिर्जनशील व्यक्ति हो”, उनले भने, “संविधानसभा र संविधान बनेपछिको रुपान्त्रित संसद्मा उनको भूमिका निकै प्रभावकारी रह्यो ।” नेता नेपालले समाजका लागि योगदान गरेका जो कोही व्यक्तिले पनि संस्मरण लेख्नुपर्ने बताए ।

पुस्तकको टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले मियाँले सरल भाषामा आफ्नो जीवनको भोगाइको यथार्थ चित्रण गरेको बताए । “पाण्डुलिपि हात परेको दिन म पूरै नपढी अरु काम गर्नै सकिन”, उनले भने, “पढ्दै जाँदा उहाँका शब्दले मलाई निकै छोयो ।”

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आफू जस्तै संसद्को अनुभव गर्न नपाएकालाई पुस्तकबाट केही कुरा सिक्ने अवसर मिल्ने बताए । राष्ट्रियसभाका सदस्य रामनारायण विंडारीले मियाँले लेखेको पुस्तकले समाज परिवर्तनमा ठूलो योगदान पुर्‍याउने बताए । पूर्वमन्त्री शान्ता मानवीले फितृसतात्मक समाजमा लेखकले हिन्दू ब्राह्मण जातिका व्यक्तिसँग विवाह गरेर त्रान्तिकारी महिलाको परिचय बनाएको बताए । लेखक मियाँले पुस्तकमा बाल्यकाल, प्रेम सम्बन्ध, विवाह गर्दाका कठिनाइ, राजनीतिक जीवन र संसद्को भोगाइलाई जस्ताको जस्तै उतारेको बताए ।