प्रचण्ड भन्छन- मदन भण्डारीका सबै कुरा बोकेर हिड्न सकिँदैन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रचण्ड भन्छन- मदन भण्डारीका सबै कुरा बोकेर हिड्न सकिँदैन



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीका सबै कुरा बोकेर हिड्न नसुहाउने बताएका छन् । उनले भण्डारीका बिचार र कुराहरुलाई अब परिमार्जन गर्दै लैजानुपर्ने भन्दै सबै कुरा बोक्न नसुहाउने तर्क गरे ।

मदन भण्डारीले तत्कालीन अवस्थामा पुराना कुरालाई नदोहोर्‍याई नयाँ परिस्थितिको विश्लेषण गरेर नयाँ चुनौतीको सामना गरेर अघि बढेको स्मरण गरे। २६औं मदन–आश्रित स्मृति दिवस तथा दुई पार्टीबीच एकता भएको वर्ष दिन पूरा भएको अवसर पारेर शुक्रबार काठमाडौंको मदननगर बल्खुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रश्न गरे, ‘मदन भण्डारीले जेजे भन्नुभयो, त्यही कुरालाई दोहोर्‍याइराख्ने कि नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरुको सामना गरेर अघि बढ्ने?

पुरानै मान्यतालाई छोड्न नसक्ने केही पुराना कम्युनिस्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्को समेत योगदान गर्न नसकेको उनको दाबी थियो।

अध्यक्ष दाहालले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरी पार्टीलाई अझ गतिशील र जीवन्त बनाउने गरी नयाँ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि गरे। पार्टीको जिल्ला अधिवेशन हुँदै केन्द्रीय अधिवेशन गरेर पार्टीलाई वैचारिक रुपमा अझ स्पष्ट, सांगठानिक रुपमा अझ सुदृढ र जनतासँगको सम्बन्धलाई अझै बलियो बनाएर लैजाने उनले प्रतिबद्धता जनाए।