पत्रकारले अन्तर्वार्तामा आफ्नो मर्यादा बिर्सिए : मिश्र - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पत्रकारले अन्तर्वार्तामा आफ्नो मर्यादा बिर्सिए : मिश्र



काठमाडौँ – साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विवादित अन्तरवार्तामा पत्रकारको कमजोरी औँल्याएका छन्। उनले अन्तर्वार्तामा पत्रकार कुनै पनि परिस्थितिमा आक्रोशित हुन नमिल्ने बताए।

पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले उक्त सन्दर्भ कोट्याएका थिए। जबाफमा मिश्रले पत्रकार आचारसंहिता र पत्रकारको धर्मअनुसार त्यसरी अतिथिलाई झपार्न नपाइने उल्लेख गरे।

तर, अन्तरवार्तामा मन्त्री यादव पनि गैरजिम्मेवार देखिएको उनको भनाइ थियो।

‘उहाँ जत्तिको उचाइ भएको राजनीतिज्ञले जे गर्नुभयो, त्यो उहाँलाई सुहाउने कुरा होइन। तर, अतिथिले औँला ठड्यायो वा चड्कन हान्यो भने पनि अन्तर्वार्ताकारले त्यसलाई जस्ताको त्यस्तै जबाफ दिन हुँदैन। संयम राख्‍नुपर्छ।’

मिश्र स्वयम् एक पूर्व पत्रकार हुन्। उनले बीबीसी नेपाली सेवामा काम गर्दा उनले पनि थुप्रै नेताहरुलाई होच्याएर प्रश्न सोधेको आरोप लाग्ने गर्थ्यो।