काङ्ग्रेस भन्छ - ६५ वर्षमै वृद्ध भत्ता दिनुपर्छ - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

काङ्ग्रेस भन्छ – ६५ वर्षमै वृद्ध भत्ता दिनुपर्छ



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेर ६५ वर्षमा झार्न संसदमा प्रस्ताव दर्ता गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न आइतबार संसदमा प्रस्ताव पेश गरेका हुन् ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता पाउने निर्णय गरेको विषय सार्वजनिक गरेको थियो । तर, उक्त निर्णयमा मुख्य सचिवले हस्ताक्षर नै गर्न नमानेपछि कार्यान्वयनमा आएको थिएन ।

कांग्रेस नेता कार्कीले भने देउवा नेतृत्वको तत्कालीन सरकारले जनताको हितलाई केन्द्रमा राखेर ६५ वर्षको उमेरमै वृद्ध भत्ता पाउने निर्णय गरेपनि बर्तमान सरकारले उक्त निर्णय उल्टाएको आरोप लगाएका छन् ।

नेता कार्कीले सरकारले कनिका छरेजस्तै गरी बजेट बाँडेर भोटको राजनीति गर्न खोजेको पनि आरोप लगाए ।

सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि बजेट तर्जुमा गर्ने,कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहित र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानीमैत्री बनाउने भनिए पनि ती विषय प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा उनको जोड थियो ।