व्यक्तिगत घटना दर्ता सम्बन्धी एक दिने अभिमुखिकरण

विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । समृद्ध नेपाल नामक संस्थाको आयोजना तथा घोडाघोडी नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
साथै शनिवार बिहान नै अभिमुखिकरण तालिमको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १० का वडा अध्यक्ष भीम बहादुर बम रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बमले समुदायमा समयमै व्यक्तिगत घटना दर्ता गर्ने अभ्यास नभएको भन्दै यस कार्यक्रमले केही हद सम्म सचेतनामा सहयोग पुग्ने विश्वास गर्नु भयो । कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बुढाले व्यक्तिगत घटना दर्ता नगर्ने परिपाटीले विभिन्न समस्या निम्तिने भन्दै यस विषयमा नगरपालिकाका सबै वडामा अभिमुखिकरण चलाउनु पर्ने धारणा राख्नु भयो ।
समृद्ध नेपाल संस्थाका अध्यक्ष डबल शाहको सभापतित्वमा भएको अभिमुखीकरण तालिम कार्यक्रममा व्यक्तिगत घटना दर्ता, दर्ताको आवश्यक्ता र महत्त्व, दर्ता प्रक्रिया, सम्बन्धित निकाय लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
वडा नं १० का वडा सचिव धनिराम चौधरी , रिता चौधरी , डबल शाह लगायतले प्रशिक्षण दिनुभएको कार्यक्रममा वडा नं १० का ३० जना मानिसहरूको सहभागी रहेको थियो । २०७४ सालबाट सञ्चालनमा आएको समृद्ध नेपाल नामक संस्था गैर नाफामूलक संस्था हो ।

