क्षमता विकासको लागि मुक्त कमलरीलाई सिपमुलक तालीम - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

क्षमता विकासको लागि मुक्त कमलरीलाई सिपमुलक तालीम



विशाल पाण्डेय / कैलाली ।
मुक्त कमलरीहरुको क्षमता विकासको लागि कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा चिया तथा नास्ता बनाउने तालिम सम्पन्न भएको छ ।

मुक्त कमलरीहरुको क्षमता विकास कार्यक्रम अन्तरगत
मुक्त कमलरी विकास मंचको आयोजना तथा घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा ५ दिने चिया तथा नास्ता बनाउने तालिम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख अथिती रहेका थिए । प्रमुख अथितीको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्नुपर्ने बताए । चौधरीले सानो भएपनी सीप सिकेर क्षमता वृद्धि गरि व्यवसाय तर्फ लागियो भने जीवन स्तरलाई सहज बनाउन सकिने बताए । आगामी दिनमा व्यावसायिकता प्रवर्द्धनका लागि घोडाघोडी नगरपालिकाले छलफल गरि बजेट विनियोजन गर्ने सोचाइ रहेको बताउदै नगर प्रमुख चौधरीले अहिले तालिम सिकेकाहरुलाई व्यवसाय संचालनको लागि नगरपालिकाले केही रकम उपलब्ध गराउने समेत जानकारी दिए ।

तालिमबाट आफुहरुले मैदाको बर्फी ,चाउमिन, समोसा ,फ्राइ राइस लगायतका करिब १२ वटा परिकारहरु बनाउन सिकेको घोडाघोडी नगरपालिका -४ माघी गाउँकि सुनिता चौधरीले बताइन । उनले भनिन , ‘सीप त जानियो तर , व्यवसाय सुरु गर्न चाहिँ आफुसंग रकम छैन ।’ त्यस्तै घोडाघोडी नगरपालिका ११ जनकपुरकी काजल चौधरीले पनि सीप जानेपनी आर्थिक स्थिती कमजोर हुँदा व्यवसाय सुरु गर्न नसकिने बताइन् । नगरपालिकाले केही रकम उपलब्ध गराउने भएपनी त्यो रकमले व्यवसायको लागि सामान खरिद गर्न पनि नपुग्ने चौधरीले बताइन् ।

यी त एउटा उदाहरणीय पात्र मात्र हुन् । तालिम लिने सबै महिलाहरुको समस्या एउटै छ , आर्थिक स्थितिको कमि । नगरपालिकाले यस अघि पनि तालिम नदिएको भने होइन् । तालिम दिएर मात्र नभई व्यवसाय सुरु गर्नको लागि पनि नगरपालिकाले रकम उपलब्ध गराउनु पर्ने तालिममा सहभागीहरुले बताएका छन् । यदि नगरपालिकाले तालिममा मात्रै लगानी लगाएर सीप सिकाइ व्यवसायमा लगानी नलगाउने हो भने नगरपालिकाको लगानी बालुवामा पानी जस्तै हुने सरोकारवालाहरुले बताएका छन् ।

कार्यक्रम मुक्त कमलरी विकास मंच कैलाली शाखाका अध्यक्ष दिपा चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष चौधरीले विपन्न वर्गका कार्यक्रमहरु गर्दा जनप्रतिनिधिहरुले खासै चासो नदेखाएको गुनासो गरिन ।
तालिममा २० जना मुक्त कमलरीहरुको सहभागिता रहेको थियो भने तालिम अवधीभर सुरेन्द्र चौधरीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको संचालन ज्योति चौधरीले गरेकी थिइन् ।